पाकिस्तानमा रहेको यो बौद्ध स्तूप किन विशेष छ ?

 कात्तिक १०, २०७६ आइतबार १९:४८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

बौद्ध धर्म विश्वको प्रमुख धर्ममध्येको एक हो । पाकिस्तानमा भने बौद्ध धर्मका अनुयायी निकै कम छन् । यसका बाबजुद पनि पाकिस्तानमा बौद्ध धर्म मान्नेहरुका लागि प्राचीन स्थान र बहुमूल्य कलाकृति पाउन सक्नेछन् ।

पछिल्लो केही वर्षदेखि पाकिस्तानले धार्मिक पर्यटनलाई बढावा दिनका लागि करतारपुर करिडोरसहित विभिन्न परियोजना अघि बढाएको छ । यसका साथै गन्धारा सभ्यतामा चासो राख्ने विदेशी पर्यटक तान्ने उद्देश्यले पाकिस्तानले बौद्ध धर्मसँग जोडिएका प्राचीन धार्मिक स्थलहरुको संरक्षण र संवर्द्धनका कार्यक्रम अगाडि बढाएको छ ।

इसा पूर्व पाचौँ शताब्दीदेखि इसा पूर्व दोस्रो शताब्दीसम्म तक्षशिला बौद्ध शिक्षाको एक महत्वपूर्ण केन्द्र मानिन्थ्यो । यहाँ विभिन्न स्तूप, पूजा स्थल तथा पुरातात्विक अवशेष रहेका छन्, जसको माध्यमबाट पाकिस्तानले धार्मिक पर्यटनलाई बढाउन सक्नेछ ।

यो पाकिस्तानीका लागि मात्रै प्राचीन स्थल होइन । संसारभरका बौद्ध अनुयायाीहरुका लागि एक महत्वपूर्ण पूजास्थल पनि हो । नेपाल, भारत, म्यानमार, थाइल्याण्ड, कोरियालगायतका देशका बौद्ध धर्म मान्नेहरुका लागि पनि पवित्र स्थल हो ।

भीमाला स्तूप सबैभन्दा पवित्र

तक्षशिलाको एक प्राचीन स्थलमा बौद्ध अनुयायीहरुका लागि गएको हप्ता विशेष पूजा समारोहको आयोजना गरिएको थियो । यो पूजा सातौँ शताब्दीपछि पहिलो पटक भएको थियो । खैबर पख्तूनख्वा पुरातत्व विभागको रेखदेखमा यो समारोह हरिपुर जिल्लाको भीमाला स्तूपनजिकै भएको हो । कोरियाबाट आएका भिक्षुले यहाँ विश्व शान्तिको कामना गर्दै विशेष पूजा गरेका थिए ।

यसका बारेमा जानकारी दिँदै कोरियाली भिक्षु डाक्टर सिनम भन्छन्, ‘हाम्रो लागि विश्वमा सात वटा सबैभन्दा ठूला पवित्र स्थल रहेका छन् । यो ठाउँ सबैभन्दा पवित्र स्थल हो । यसको अर्थ पूरा प्रह्माण्डको शक्ति यहीँ एकत्र हुन्छ ।’ उनले अगाडि भने, ‘हाम्रो लागि यो ठाउँ निकै महत्वपूर्ण छ । हामीमाथि यो ठाउँको विशेष प्रभाव पर्दछ ।’

यो ठाउँ खानपुर बाँध नजिकै रहेको पहाडमा रहेको छ । भीमाला स्तूप पुग्नका लागि खानपुर बाँध नजिकैबाट एउटा बाटो रहेको छ । सडकको अवस्था राम्रो छैन, तर हरु नदीको नजारा लिँदै हुने यात्राले बाटोको अवस्था र थकान नै बिर्साइदिन्छ ।

यो प्राचीन स्तूप सन् १९३० को दशकमा ब्रिटिस पुरातत्वविद् सर जोन मार्सलले खोजेका थिए । उनले सिन्ध प्रान्तको लडकाना शहरमा रहेको मुअनजोड्दो पनि पत्ता लगाएका थिए । युनेस्कोको सम्पदा सूचीमा रहेको यो ऐतिहासिक स्थलको केही अवशेष तक्षशिला संग्रहालयमा पनि राखिएको छ ।

दर्जनौँ सिँढी चढिसकेपछि क्रस आकारको स्तूप देख्न सकिन्छ । जहाँ हजारा विश्वविद्यालयका विद्यार्थी प्रायः निरीक्षणमा रहेको देख्न सकिन्छ । यो ठाउँमा तीन पटक उत्खनन् भैसकेको छ । पूरातत्वविद्हरु यहाँबाट महत्वपूर्ण कुरा पत्ता लाग्नेमा आशावादी रहेका छन् ।

स्वप्निल बुद्धको प्रतिमा

विशेषज्ञहरुका अनुसार भीमाला स्तूपमा फेला परेको बुद्धको प्रतिमा कंजूर पत्थरबाट बनाइएको छ । यसलाई यस क्षेत्रको सबैभन्दा प्रचीन बौद्ध प्रतिमाका रुपमा पनि लिइएको छ ।

तक्षशिला संग्रहालयका क्यूरेटर अब्दुल नासिरले भने, ‘अफगानिस्तानमा हेदा र पाकिस्तानमा तक्षशिला पूरा विश्वमै गन्धारा सभ्यताको अवशेषका लागि प्रसिद्ध रहेको छ । गन्धारा सभ्यतासँग जोडिएको कला पूरा विश्वमै लोकप्रिय रहेको छ । यो कलाको उद्देश्य धर्मको प्रचार र पूजा थियो ।’

उनी भन्छन्, ‘यी कला घरमा होइन, कुनै स्तूपमा भिक्षुहरुद्वारा बनाइन्थ्यो । जसरी हामी(मुस्लिम) मस्जिद बनाउँछौँ, त्यसैगरी यी मूर्तिले विशेष पूजा प्रथाका बारेमा जानकारी दिन्छन् । यी मूर्तिका कपडा, गहना र शैली पूरा विश्वमै एकजस्तै भेटिन्छन् ।’

भीमाला स्तूपमा भेटिएका मूर्तिको विशेष महत्व रहेको नासिर बताउँछन् । उनका अनुसार स्वप्निल बुद्धको मूर्तिले गौतम बुद्ध संसारबाट प्रस्थानको गर्दाको क्षणलाई दर्शाउँछ ।

धार्मिक पर्यटनका लागि धार्मिक सद्भाव आवश्यक

स्तपूमा हुने कार्यक्रमको आयोजकमध्येका एक सदफ रजाले कोरियाबाट आएका भिक्षुले पास्कितान सरकारसँग मिलेर पाकिस्तानमा रहेको गन्धारा सभ्यताको संरक्षण गर्न चाहेको बताए । उनले भने, ‘यदि यो ठाउँ उनीहरुका लागि अध्ययनका लागि खुला गरिदिने हो भने हाम्रो देशको पर्यटनमा पनि बढावा पुग्नेछ अनि उनीहरुलाई पनि आनन्द ।’

यहाँ आयोजित पूजाको विशेष महत्व यस कारण पनि थियो कि यस क्षेत्रमा शान्ति स्थापनालाई जोड दिनुथियो । भिक्षु डाक्छर सिनम पूजा समारोहमा कश्मीरको पछिल्लो वातावरणलाई लिएर पनि चिन्तित थिए । यस क्षेत्रमा शान्ति स्थापनाका लागि धार्मिक सहिष्णुता र धार्मिक सद्भाव आवश्यक रहेको उनले बताए । भिक्षु सिनम भन्छन्, ‘हामी सबै एक हौँ, हाम्रो लागि पाकिस्तान हाम्रै देशजसे हो । तपाईँ चाहे बौद्ध धर्म मान्नुहोस्, चाहे इस्लाम, हामी सबै एक हौँ ।’

उनले अगाडि भने, ‘हामी एक अर्काप्रति घृणा गरौँ वा एक अर्कालाई सिध्याउने काममा लागौँ, भगवान यो चाहनुहुन्न । हामी भगवानको उपदेशलाई नजरअन्दाज गरिरहेका छौँ । म यस क्षेत्रमा शान्ति ल्याउन चाहन्छु । किनभने हामी सबै एक हौँ ।’

-बीबीसी हिन्दीबाट

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया