‘तपाईँको गुनासो सम्बन्धित निकायमा फर्वाड गरिएको छ’

 कात्तिक ११, २०७६ सोमबार १४:३९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले सर्वसाधारणको गुनासो सुन्न सञ्चालनमा ल्याइएको गुनासो व्यवस्थापन प्रणाली ‘हेलाे सरकार’ मा एक हजारभन्दा बढी जनगुनासोको चाङ लागेका छन् ।

‘हेलाे सरकार’की शाखा अधिकृत हरिकला आचार्यले विभिन्न सामाजिक सञ्जालमार्फत् चालू आर्थिक वर्षको हालसम्म जम्मा १ हजार ८७ वटा गुनासो हेलाे सरकारमा आएको जानकारी दिनु भएको हो । त्यसमध्ये १५६ वटा जनगुनासो मात्रै सम्बोधन गरिएको छ ।

३२८ वटा गुनासो भने अध्ययनको प्रक्रियामा रहेका छन् । ती गुनासोहरु सम्बन्धित निकायमा फरवार्ड गरिएको पनि हेलाे सरकारकी शाखा अधिकृत आचार्यले बताउनुभयो ।

हेलाे सरकारमा धेरैजसो यातायात क्षेत्रको बेथितिबारे गुनासो आउने गरेको छ । त्यसैगरी विकास, निर्माण र सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याबारे पनि गुनासो आउने गरेको हेलाे सरकारले जनाएको छ । शाखा अधिकृत आचार्यका अनुसार सार्वजनिक सेवा प्रवाहमा जनताले हैरानी व्यहोर्नु परेको गुनासो पनि धेरै आउने गरेका छन् ।

सरकारले नागरिकको गुनासो तत्काल सम्बोधन हुने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहने गरी गुनासो समाधान गर्न ‘हेलाे सरकार गुनासो व्यवस्थापन प्रणाली’ सञ्चालनमा ल्याएको हो । यस प्रणालीले नागरिकको गुनासोलाई अभिलेखिकरण गरी सम्बन्धित निकायमा समस्या समाधानका लागि फरवार्ड गरिदिने काम गर्दछ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया