‘काम गर्न नसक्ने विभागीय प्रमुखलाई सरकारले बर्खास्त गर्छ, काम नै नगरी घुम्न बन्द गर्नुस्’

 मंसिर ८, २०७६ आइतबार २०:२५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको लक्ष्यअनुसार काम गर्न नसक्ने विगागीय प्रमुखलाई बर्खास्त गरिने संकेत गर्नुभएको छ । 

आइतबार मन्त्रालयको समीक्षात्मक बैठकमा मन्त्री बाँस्कोटाले अन्तिम समयमा विभिन्न बहाना देखाउने पुरानै शैली सरकारलाई स्वीकार्य नहुने भन्दै लक्ष्यअनुसारको कार्यप्रगति देखाउन सचिव, सहसचिव तथा विभागीय प्रमुखलाई निर्देशन दिनुभएको हो । 

उहाँले भौतिक, वित्तीय र पुँजीगत प्रगति हासिल गर्न नसकेका सचिव, सहसचिव र विभागीय प्रमुखलाई सरकारले लिखित स्पष्टीकरण सोध्ने चेतावनी दिनुभयो । उहाँले काम नै नगरी धेरै घुम्ने काम बन्द गर्न पनि निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भोलि प्रधानमन्त्रीकोमा जे पेस हुन्छ, त्यसपछि कुरा यसरी आउँदैन । लिखित आउँछ, निर्देशन लिखित आउँछ । तपाईँको जवाफ पनि लिखित चाहिन्छ ।’

उहाँले प्रतिवेदन बुझाएपछि काम सकियो भनी ढुक्क नबन्न पनि सचेत गराउनुभयो । उहाँले दोस्रो चौमासिक समीक्षा बैठकमा ६६ प्रतिशत काम नसकाएका विभागीय प्रमुखहरु अयोग्य सावित हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘६६ प्रतिशत काम नसकाएका विभागीय प्रमुखले थाहा पाउनुहोस् कि म अयोग्य छु ।’

बैठकमा सञ्चार मन्त्रालय मातहतका निकायले आफ्नो कार्यप्रगति विवरण पेस गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया