यूएईमा कोरोना संक्रमित दुई नेपालीको अवस्था स्थिर, धेरै श्रमिक रोजगारी गुम्ने चिन्तामा

 चैत ३, २०७६ सोमबार १०:४९:५५ | उमाकान्त पाण्डे

यूएई – यूएईमा कोरोना सङ्क्रमित दुई नेपालीको अवस्था स्थिर रहेको नेपाली दूतावासले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण देखिएका दुई नेपालीको उपचार यहाँको सरकारी संयन्त्रले व्यवस्थित रुपमा निःशुल्क गरिरहेकोले अवस्था सामान्य रहेको दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धितालले उज्यालोलाई जानकारी दिनुभयो ।

दूतावासले कोरोना सङ्क्रमित नेपालीको अवस्थाबारे यहाँको स्वास्थ्य र परराष्ट्र मन्त्रालयमार्फत बुझिरहेको उपनियोग प्रमुख धितालले बताउनुभयो । संक्रमित आफैं परिवारसँग नियमित सम्पर्कमा रहेकाले दुवै नेपालीको पहिचान भने खुलाइएको छैन । 

यूएईले यहाँ रहेका सबै कुटनीतिक नियोगहरुसँग अनलाइन संवाद गर्ने व्यवस्था गरेको छ । यूएईमा कोरोना संक्रमित सबै देशका नागरिकलाई यूएईले आफ्नै नागरिक सरह उपचार गर्ने, तथा सम्बन्धित देशले चाहेमा सम्बन्धित देश फर्काउने लगायतका विषयमा सम्बन्धित देशका नियोगका प्रतिनिधिसँग छलफल गरिरहेको छ ।

कोरोना देखिएकालाई तत्काल स्वदेश फर्काउने अवस्था छैन । तर पनि सङ्क्रमणको प्रभाव यूएईमा कार्यरत अरु नेपाली श्रमिकमासमेत पर्न थालेको छ । कतिपय कम्पनीले वार्षिक बिदा लिएका श्रमिकको तालिकामा परिवर्तन गरेका छन् भने कतिपयले बेतलबी बिदामा बस्न आग्रह गरेका छन् ।

वार्षिक बिदा लिन बाँकी रहेकाहरुलाई तल्काल बिदामा बस्न तथा बिदा सकाएर फर्किएकालाई समेत बेतलबी बिदा लिन भनिएको दुबईको एक होटलमा कार्यरत धादिङका रमेश थापाले बताउनुभयो । कम्पनीले आफ्नो देशको अवस्था हेरेर घर फर्कन अथवा स्थानीय बिदामा बस्न भनेपछि धेरै श्रमिकको रोजगारी गुम्ने कुराले चिन्तामा परेका छन् ।

खासगरी सेवा प्रदायक क्षेत्रमा काम गर्ने श्रमिकहरु समस्यामा परेका हुन् । होटल, ट्राभल एजेन्सी, सेल्स, सवारी चालक र सुरक्षा गार्डमा काम गर्ने नेपाली श्रमिकहरुमा कोरोनाको असर देखिन्छ । यहाँका स्थानीय सपिङ सेन्टर, मल तथा बजार क्षेत्र सुनसान हुन थालेका छन् । तर बजारमा खाद्य सामाग्री भने नियमित पाइएको छ । 

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई विश्व महामारीको रुपमा घोषणा गरेपछि यहाँको सरकारलेसमेत उच्च सतर्कता अपनाएको छ । पर्यटकीय स्थल, बार, नाइट क्लब, रेस्टुरेन्ट, मानिसको जमघट हुने प्रमुख क्षेत्र तथा विद्यालय, सिनेमा हल बन्द गरिएको छ । साथै यूएई भ्रमणमा आउनेहरुका लागि मंगलबारदेखि भिसा समेत बन्द हुँदैछ ।

यहाँ रहेका नेपाली कामदारको अवस्था, सतर्कता अपनाउन गरिएका पहल लगायतका विषयमा दूतावासले दैनिक रुपमा परराष्ट्र, स्वास्थ्य मन्त्रालय तथा अध्यागमन विभागलाई ब्रिफिङ गरिरहेको दूतावासले जनाएको छ ।

यस्तै पछिल्लो सरकारी सूचनाभन्दा पहिले नेपाल गएका कामदारहरु बिना श्रम स्वीकृति आउन नपाउने कारण समयसीमामा काम गरेको कम्पनीमा उपस्थित हुन नपाउँदा रोजगारी जाने चिन्तामा छन् । यस विषयमा यहाँको सरकारले भने कुनै निर्णय नगरेको दूतावासले जनाएको छ । श्रमिकले दैनिक रुपमा दूतावासमा सम्पर्क गरेर जानकारी लिने गरेका छन् ।

सम्पर्कमा आएका तथा कार्यरत सबै कामदारलाई नआत्तिन, विश्व स्वास्थ्य संगठन र दुवै देशका सरकारको निर्देशन अनुसार सतर्कता अपनाउन दुतावासले आग्रह गरेको छ ।

यूएईमा सोमबार बिहानसम्म ९८ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने सङ्क्रमितमध्ये २३ जना निको भैसकेका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया