'लकडाउन'ले आप्रवासी श्रमिकलाई पारेकाे असरबारे एम्नेस्टीको ध्यानाकर्षण

 चैत २१, २०७६ शुक्रबार १२:२८:३९ | रासस

काठमाण्डाै – एम्नेस्टी इन्टरनेशनल नेपालले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न लगाइएको लकडाउनका बेला विदेशी सीमानाका बन्दका कारण हजारौँ मानिसले गम्भीर असर भोगिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

एम्नेष्टीले जारी गरेको प्रेस विज्ञप्तिमा आप्रवासी श्रमिकहरू आफूले काम गरिरहेको देशमा अपलत्र परिरहेका र नेपालमा गरिबीको अवस्थामा रहेका जनताले आफ्ना आधारभूत आवश्यकता परिपूर्ति गर्न सङ्घर्ष गरिरहेको उल्लेख छ ।

एम्नेस्टी इन्टरनेशनल नेपालका निर्देशक नीराजन थपलियाका अनुसार सीमान्तकृत समुदाय र माहामारीको अवस्थामा विशेष जोखिममा रहेकाको अधिकारअनुकूल हुनुपर्ने र यसका अतिरिक्त सरकारले स्वास्थ्य र जीवनयापनको जोखिममा रहेकाको संरक्षणका लागि उपयुक्त उपाय अवलम्वन गर्नुपर्ने उल्लेख छ ।

कतार र मलेशिया तथा छिमेकी भारतलगायतका देशमा पनि अहिले हप्तौँ लामो लकडाउन र अन्य सार्वजनिक स्वास्थ्यजन्य उपाय लागू गरिएकाले धेरै आप्रवासी श्रमिकले आफ्नो रोजगारी गुमाएर बेतलवी बिदामा बस्न बाध्य भएको अवस्थामा स्वास्थ्य सेवा, खाद्यान्न, आवासलगायतका आधारभूत आवश्यकतामा पर्याप्त पहुँच पुर्‍याउनुपर्ने उल्लेख छ ।

'यो महामारी फैलिएपछिको अवस्थामा राज्यले आप्रवासी श्रमिकलाई पर्याप्त संरक्षण प्रदान गरेका छैनन् र सम्बन्धित देशका अर्थतन्त्रलाई मजबुत पार्न उनीहरूले पुर्‍याएको योगदानलाई अहिले समग्ररूपमै बिर्सिइएको छ', थपलियाले भन्नुभयो, 'सबै श्रमिकले आफूले श्रम गरिरहेको देशमा पर्याप्त आवास सुविधामा पहुँच प्राप्त गरेको हुनुपर्दछ र यस्ता आवासका व्यवस्थामा आफूलाई सुरक्षित राख्न आवश्यक पानी र अन्य सरसफाइको प्रबन्ध तथा एक्लिएर रहन मिल्ने सुविधा पनि रहेको हुनुपर्छ ।'

काम गर्न नसकेमा वा बिरामी परेमा वा यी देशमा क्वारेन्टाइनमा रहनुपरेमा उनीहरूले सामाजिक सुरक्षा संरक्षण र अन्य वित्तीय सहायतामा पहुँच प्राप्त गर्नुपर्ने उल्लेख छ ।

लकडाउनले दैनिक ज्यालादारी गर्ने श्रमिक, शरणार्थी र अनौपचारिक क्षेत्रमा रोजगारी गरिरहेकालगायत विभिन्न समूहलाई पनि असमानुपातिकरूपमा असर पारेको एम्नेष्टीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ २०, २०७७

तपाईको प्रतिक्रिया