बारामा जिल्ला अस्पतालको लापर्वाहीले शिशुको ज्यान गएको परिवारको आरोप : अस्पताल भन्छ–धन्न आमा बचाउन सक्यौँ

 जेठ २, २०७७ शुक्रबार ९:५९:३१ | जयनारायण यादव
unn.prixa.net

बारा - जिल्ला अस्पताल बाराका चिकित्सकको लापर्वाहीका कारण, गर्भको शिशु खेर गएको परिवारले आरोप लगाएको छ ।

बाराको सुवर्ण गाउँपालिका ६ की २५ वर्षीया तसिरा खातुनको गर्भमा रहेको शिशु डाक्टरको लापर्वाहीका कारण खेर गएको खातुनका बुवा शेख आसिफले आरोप लगाउनुभएको हो ।

बिहीबार बिहान आठ बजे छोरीलाई सुत्केरी गराउन कलैया अस्पतालमा लगे पनि चिकित्सकले समयमै शल्यक्रिया नगर्दा गर्भमै शिशुको ज्यान गएको शेख आरिफको भनाइ छ ।

सुत्केरी व्यथा लागेकी तसिरालाई बिहान आठ बजे नै कलैया अस्पतालमा पुर्‍याए पनि कलैया अस्पतालका डाक्टर हरिओम केशरीले दिउँसो चार बजेमात्र शल्यक्रिया गरेको र त्यतिबेलासम्म शिशुको ज्यान गइसकेको उहाँले बताउनुभयो ।

यसअघि पनि शल्यक्रिया गरेर बच्चा जन्माएकाले यसपटक पनि शल्यक्रिया नै गरिदिन आग्रह गर्दा पनि डाक्टर केशरीले नमानेको परिवारको दाबी छ । शल्यक्रियाका लागि जिल्लाका नेता र प्रमुख जिल्ला अधिकारीलाई गुहारेपछी मात्र डाक्टर केशरीले चार बजे छोरीको शल्यक्रिया गराएको उहाँले बताउनुभयो । 

तर कलैया अस्पताल मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर बीरेन्द्रकुमार मण्डलले भने डाक्टरको लापर्वाही नभइ पेटभित्रै दिशा खाएका कारण शिशुको ज्यान गएको दाबी गर्नुभयो ।  

बिहान १० बजे नै डाक्टर केशरीसहित शल्यक्रिया गर्ने स्वास्थ्यकर्मीको टोलीले कलैया अस्पतालमा उपचार सम्भव नभएकाले अन्यत्र लैजान सुझाव दिए पनि नलगेका कारण शिशुको ज्यान गएको दावी गर्नुभयो । शिशुलाई राख्नुपर्ने एनआईसीयू कक्ष नभएकोले बिरामीलाई  सुविधासम्पन्न अस्पतालमा लैजान सुझाव दिएको मण्डलको भनाइ छ ।

बिरामीका आफन्तले बिरामीलाई अन्यत्र लैजानुको सट्टा शल्यक्रियाका लागि दबाब सृजना गर्नेतर्फ लागेकोऽ धेरै ठाउँबाट दबाब आएपछि शल्यक्रियाको तयारी गर्न समय लागेको र शिशु बाँच्ने सम्भावना न्यून हुँदाहुँदै शल्यक्रिया गर्दा सुत्केरीलाई मात्र बचाउन सकेको मेडिकल सुपरिन्टेन्डेन्ट मण्डलले बताउनुभयो ।

घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न आरिफले माग गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया