दशैँकाे टिकट बुकिङ असोज अन्तिममा खोल्ने विभागको तयारी, व्यवसायी भने अन्योलमा

 असोज १३, २०७७ मंगलबार १८:३५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यातायात व्यवस्था विभागले दशैँकाे लागि असोजको अन्तिममा सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेको छ ।

विभागले असोज महिनाको अन्तिममा दशैँको अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभएको हो । उहाँले यातायात व्यवसायीहरुसँग छलफल गरेर अग्रिम टिकट बुकिङ खुला गर्ने मिति तय गरिने बताउनुभयो । 

यातायात व्यवसायीले भने अग्रिम टिकट बुकिङबारे आफूहरु अन्योलमा रहेको बताएका छन् । व्यवसायीका अनुसार कोरोना महामारीका कारण यसपालिको दशैँमा विगतका वर्षमा जस्तो काठमाण्डौ उपत्यकाबाट बाहिर जाने यात्रुको चाप बढी नहुने भएकाले अग्रिम टिकट बुकिङ अन्योलमा परेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटाैलाले भन्नुभयो, 'काठमाण्डौबाट बाहिर जाने मात्रै हैन, काठमाण्डौ भित्रिने गाडीमा समेत यात्रु छैनन् । विगतका वर्षमा दशैँ आउन एक महिना अघिदेखि टिकट काउन्टरमा भिडभाड हुन्थ्यो, यसपालि सुनसान छ, अग्रिम टिकट बुकिङ खुलाउन आवश्यक छ जस्तो लाग्दैन ।'

सिटौलाका अनुसार सरकारले सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार पुगेमा फेरि लकडाउन गर्ने घोषणा गरेकाले पनि दशैँका बेला लकडाउन हुन्छ भनेर काठमाण्डौ छाडेर गाउँघर फर्कने क्रम बढेको छ । तर प्रायः निजी गाडीमा फर्किएका छन् । सार्वजनिक गाडीमा फर्किनेको सङ्ख्या कम छ । लकडाउन तथा निषेधाज्ञाका कारण कलेज तथा विद्यालय बन्द भएको र धेरै मानिसले काठमाण्डौ उपत्यका छाडिसकेकाले अग्रिम टिकट बुकिङ ढिलो खुले पनि फरक नपर्ने महासङ्घले जनाएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेकाले सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सार्वजनिक गाडीमा ५० प्रतिशत बढी भाडा लिएर सिटमा ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने नियम बनाएको छ । गएको असोज १ गतेदेखि यही नियमअनुसार लामो दुरीका सार्वजनिक गाडी चलिरहेका छन् । तर यसरी गाडी चलाउँदा लामो दुरीका सार्वजनिक बसका चालक तथा सहचालकहरुले खानाको व्यवस्था मात्रै गर्न सकेको तर तेल भने व्यवसायीहरुले नै हालिदिनुपर्ने अवस्था आएको महासङ्घको भनाइ छ ।

यसअघिका दशैँमा २० लाख मानिसले काठमाण्डौ उपत्यका छाड्ने गरेकामा यसपालि निकै कमले मात्र उपत्यका छाड्ने अनुमान गरिएको छ । महासङ्घले रोग सङ्क्रमणको अवस्थालाई मध्यनजर गरेर फुर्सदमा हुने र दशैँलाई उपत्यकाबाहिर जानुपर्नेलाई अहिले नै सुरक्षित यात्रा गर्न आग्रह पनि गरेको छ ।

यसैबीच सार्वजनिक यातायात सञ्चालनका सम्बन्धमा सरकारले लिएको नीति पुनरावलोकन हुनुपर्ने यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।

उज्यालो अनलाइनसँग कुराकानी गर्दै महासङ्घका महासचिव सरोज सिटौलाले विमान र सार्वजनिक गाडीका लागि विभेदकारी निति र नियम भएको भन्दै बसलाई पनि सबै सिटमा यात्रु बोक्न दिनुपर्ने बताउनुभयो । उहाँले सुरक्षा सावधानी अपनाएर बस पूर्ण सिट क्षमतामा सञ्चालन गर्नुको विकल्प नभएको बताउनुभयो ।

यातायात व्यवस्था विभागले बसको अग्रिम टिकट बुकिङ, यात्रामा कोरोना भाइरसबाट सुरक्षित हुने सुरक्षा मापदण्डलगायतका बारेमा व्यवसायीसँग छलफल गर्न बाँकी रहेको जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया