दाङमा कोरोना जोखिम : घाेराहीमा सञ्चालन भइरहेका वैकल्पिक सिकाइ कात्तिक १५ सम्म बन्द

जिल्ला प्रशासन कार्यालय दाङ पाँच दिन सिल

 असोज २५, २०७७ आइतबार १९:१९:५२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – घोराही उपमहानगरपालिकाले कोरोना सङ्क्रमणको दर बढेको भन्दै सामुदायिक र संस्थागत विद्यालयहरुमा भइरहेकाे सहजीकरणका क्रियाकलाप २० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको आइतबार बसेको बैठकले नगरभित्र दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै कात्तिक १५ गतेसम्मका लागि सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

घोराही उपमहानगरपालिकाले असोज १ गतेदेखि अस्थायी सिकाइ केन्द्रका रुपमा सबै विद्यालयहरुमा सिकाइ सहजीकरण क्रियाकलापहरु सञ्चालन गर्दै आएका थिए । नगरका कार्यवाहक प्रमुख भरतमणि अर्यालको अध्यक्षतामा बसेको बैठकले समुदायस्तरमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै कात्तिक १५ गतेसम्म सिकाइ केन्द्रमा भइरहेको सहजीकरणका क्रियाकलाप बन्द गर्ने निर्णय भएको सदस्य सचिव एवं शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख विनोद गौतमले जानकारी दिनुभएको छ ।

त्यसैगरी कक्षा ११ को परीक्षासमेत स्थगन गर्ने बैठकले निर्णय गरेको छ । तर शिक्षा महाशाखा एवं विद्यालयहरुको दैनिक प्रशासनिक काम भने यथावत् राख्ने निर्णय भएको छ ।

घोराही उपमहानगरपालिकामा अहिलेसम्म पाँच सय ४३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ भने तीमध्ये तीन सय ९६ जना सङ्क्रमणमुक्त भएका छन् ।

प्युठानको नौबहिनी गाउँपालिकाले पनि शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ । समुदायमा काेरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नौबहिनीमा रहेका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएकाे हो ।

जिल्ला प्रशासन कार्यालय दाङ पाँच दिन सिल

कार्यालयका एक जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ ।

कार्यालय सहयोगी एक महिलालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि पाँच दिनका लागि मुद्दा र शान्ति सुरक्षा बाहेकका अन्य सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ । अब ३० गते प्रशासन खुल्ने छ ।

अन्य केही कर्मचारीको पनि स्वाब परीक्षणका लागि पठाइएको प्रशासनले जनाएको छ । यसअघि पनि प्रशासनमा रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रका एक जना अधिकृतमा कोरोना देखिएपछि कार्यालय सिल गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया