आकस्मिक बाहेकका शल्यक्रिया नगर्न काठमाण्डाै उपत्यकाका अस्पताललाई सरकारकाे निर्देशन

उपत्यकाका सबै सरकारी अस्पताल कोभिड अस्पताल बनाउने निर्णय

 असोज २६, २०७७ सोमबार १७:४१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य मन्त्रालयले काठमाण्डाै उपत्यकाका सबै अस्पतालहरुलाई आकस्मिक बाहेकका शल्यक्रिया नगर्न पनि निर्देशन दिएको छ । लक्षण भएका कोरोना सङ्क्रमितको सङ्ख्या बढेकोले कोरोनाका बिरामीलाई आईसीयू र भेन्टिलेटर बेड पाउने अपेक्षा गरेर आकस्मिक बाहेकका शल्यक्रिया नगर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

यस्तै सरकारले काठमाण्डाै उपत्यकाका सबै सरकारी अस्पताललाई कोरोना अस्पताल बनाउने भएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले उपत्यकामा कोरोना सङ्क्रमितको उपचारका लागि सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयले स्वास्थ्य सेवा विभागसँग भएका भेन्टिलेटर, आईसीयू तथा अक्सिजन कोरोना सङ्क्रमितको उपचारका लागि प्रयोग गर्ने पनि निर्णय गरेको छ ।

यस्तै काठमाण्डौको मनमोहन शिक्षण अस्पताल दहचोक र राष्टिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा रहेका आइसोलेशन सेन्टरलाई लक्षणसहितका कोरोना सङ्क्रमित राख्नको लागि कोभिड अस्पतालमा स्तरोन्नति गर्ने भएको छ ।

बैठकले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेशन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यस्ता होटलमा सङ्क्रमित बाहेक अरुलाई राख्न पाइने छैन ।

यस्तै मन्त्रालयले सार्वजनिक ठाउँ तथा सार्वजनिक यातयाताबाट सङ्क्रमण फैलन नदिन निसङ्क्रमण गर्ने तथा स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । यस्तै दशैँलगायतका चाडपर्व मनाउँदा कोरोना सङ्क्रमण फैलन सक्ने भएकोले जो–जहाँ जस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा चाडपर्व मनाउन र चाडपर्वका नाममा यात्रा नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया