अहिलेसम्म १३ जना यातायात मजदुरमा कोरोना सङ्क्रमण

 असोज २८, २०७७ बुधबार १४:३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशभर अहिलेसम्म १३ जना यातायात मजदुर कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 

जसमध्ये एक जनाको ज्यान गएको छ भने तीन जना आइसोलेशनमा छन् । यस्तै नौ जना कोरोनामुक्त भइसकेका नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिनुभयो ।  

उहाँले सङ्गठनमा आबद्ध मजदुरहरुले सावधानी अपनाएरै काम गरिरहेकाले जोखिमको क्षेत्र भए पनि सङ्क्रमण कम फैलिएको बताउनुभयो ।

सार्वजनिक गाडीमा सुरक्षा सावधानी छैन भन्ने गुनासो आइरहेकाले लामो, मध्यम तथा छोटो दुरीको गाडी सञ्चालनका क्रममा सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सङ्गठनका सदस्यहरुलाई अध्यक्ष राईले आग्रह पनि गर्नुभएको छ । 

यसैबीच लकडाउन र निषेधाज्ञापछि गाडी चल्न थालेको सुरुका केही दिनमा मजदुरका लागि यातायात व्यवसायी अर्थात् कम्पनीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएका थिए । तर पछिल्लो समय पन्जा, मास्क, स्यानिटाइजर लगायतका सामग्री यातायात मजदुर आफैले जुटाइरहेको सङ्गठनले जनाएको छ ।

यातायात मजदुरसँगै यात्रुले पनि गाडीमा बस्दा भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने लगायतका कुरामा ध्यान दिनुपर्ने सङ्गठनका अध्यक्ष राईले बताउनुभयो ।

चक्रपथ र सहरी क्षेत्रभन्दा बाहिरका ठाँउमा, विशेषगरी ग्रामीण भेगमा सीमित स्राेत साधनका कारण तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र गराउन गाह्राे हुने उहाँको भनाइ छ । 
उहाँले कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न यातायात मजदुर, व्यवसायी र यात्रुको लागि सचेतनामूलक सन्देश प्रवाह गर्न केही सामग्री बनाउन सरकारलाई आग्रहसमेत गर्नुभएको छ   । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया