मरेको मान्छे बिउँझनु र प्रतिनिधिसभा पुनः स्थापना हुन्छ भन्ने एकै हो : रायमाझी

 पुस २६, २०७७ आइतबार ८:३३:६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - नेकपा स्थायी कमिटी सदस्य तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले मरेको मान्छे बिउँझन्छ भन्नु र प्रतिनिधिसभा पुनः स्थापना हुन्छ भन्नु एकै भएको टिप्पणी गर्नुभएको छ ।

अर्घाखाँचीको मालारानीमा नेकपाको ओली समूहले गरेको गाउँपालिकास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिनिधिसभा पुनःस्थापना अब केवल दिवास्वप्ना मात्र हुने दाबी पनि गर्नुभयो । 

प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाएर सडक पुर्याउने उदेश्यले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले डिजाइन गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई असफल पार्नुभएको उहाँको भनाइ थियो । प्रचण्ड–नेपाल समूहले एकताको मर्म विपरीत पार्टीभित्र चरम गुटबन्दी गरी पार्टी विभाजनको अवस्थामा पुर्याएको आरोप लगाउँदै उहाँले पार्टी एकता विरोधीलाई कार्यकर्ता र नागरिकले बहिष्कार गर्ने पनि उहाँले बताउनुभयो । 

रायमाझीले  प्रचण्ड–नेपाल समूहले बाह्य शक्तिको इशारामा पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट हटाएर देशलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाउनुभयो । ३३ वर्षसम्म  प्रचण्ड आफैं टीको लगाएर पार्टी  अध्यक्ष बनेको  भन्दै उहाँले  पार्टीलाई खल्तीको पैसा जस्तो सम्झने प्रचण्डले नेकपालाई पनि आफ्नो कठपुतली बनाउन षड्यन्त्र गरेको आरोप लगाउनुभयो ।

ओली नेतृत्वको सरकार बनेदेखि नै पार्टीभित्रैबाट सरकारलाई घेराबन्दीमा पारेर काम गर्न नदिएको भन्दै उहाँले विभिन्न कठिनाइ र अवरोधकाबीच सरकारले जनमुखी र ऐतिहासिक काम गरेको दाबी गर्नु भयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया