जुम्ला गाेठीगाउँ आगलागी : हेर्दाहेर्दै खरानी भयाे बस्ती

‘गाउँमा खानेपानीको एउटा धारा थियो, त्यसबाट आउने पानीले आगाे निभाउन सकिएन’

 माघ १४, २०७७ बुधबार १४:४:१३ | नेत्र शाही
unn.prixa.net

गुठीगाउँकाे जलेको बस्ती

जुम्ला – जुम्लाको तिला गाउँपालिका ७ पोख्रीको गोठीगाउँमा ३० घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधवप्रसाद काफ्लेका अनुसार ३० घर जलेर नष्ट भएका छन् ।  

प्रहरी नायब उपरीक्षक (डीएसपी) काफ्लेका ३० घरसहित १७ गाई, २३ गोरु र ३० भेडा–बाख्रासहित ७० पशुचौपाया पनि जलेर नष्ट भएका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी पुगिसकेको र क्षतिको विवरण थप आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।     

२०७७ माघ १३ गते राति ७ बजे तिला गाउँपालिकाको गुठी भन्ने गाउँमा आगलागी भएको थियो । यस गाउँका ५५ बढी घरमध्ये दुई वडाका ३० घर जलेर नष्ट भएका छन् । घटनास्थल सदरमुकामबाट ४२ किलोमिटर टाढा निकै दुर्गममा भएकाले समयमै सुरक्षा निकाय पुग्न नसक्दा, स्थानीयले आगो नियन्त्रण गर्न नसकेपछि बस्ती नै खरानी भएको स्थानीयले बताएका छन् ।   

आगलागीको खबरपछि प्रहरी निरीक्षक (इन्स्पेक्टर) नवीन थापा मगरको कमाण्डमा १५ जना र प्रहरी चौकी रारालिहीबाट प्रहरी नायब निरीक्षक (सई) झुपेन्द्रबहादुर शाहीको कमाण्डमा तीन जना र प्रहरी चौकी कुडारीबाट प्रहरी जवान नरेन्द्र देउवाको कमाण्डमा तीन जनाको टोली खटेर क्षतिको विवरण लिइरहेको छ ।

प्रहरी त्यहाँ नपुग्दै बस्ती नै जलिसकेको स्थानीयले बताएका छन् । स्थानीय धनबहादुर रोकायाले हिउँदे सिजनमा भण्डार गरेको अन्नसमेत जलेर नष्ट भएको बताउनुभयो । गाउँमा खानेपानीको एकधारा थियो, त्यसबाट आउने पानीले निभाउन नसकिएको स्थानीयले जनाएका छन् ।  

चुलोबाट आगो सल्किएको आशङ्का  

स्थानीय परबहादुर रोकायाका अनुसार सुधारिएको चुलाको पाइपबाट आगो सल्किएको अनुमान गरिएको बताउनुभयो । गाउँभरि सल्किएको आगो निभाउन नसकिएको र टुलटुलु हेर्नुबाहेक केही उपाय नलागेको उहाँले गुनासो पोख्नुभयो । गाउँलेले हरप्रयास गरेको तर काठका छत भएका घर भएकाले आगो निभाउन नसकिएको बताइएको छ । 

एकै गाउँका धेरै घर जलेर नष्ट भएपछि राहत र पुनर्स्थापनाका विषयमा जिल्ला प्रशासन कार्यालयमा तयारी भइरहेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा बैठक बसेर छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । 

तस्बिर : नेत्र शाही 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया