मिथिलाको महाकुम्भ मानिने माध्यमा परिक्रमाका यात्रीहरु आज जलेश्वरमा

 चैत ४, २०७७ बुधबार १०:३०:५२ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – मिथिलाको महाकुम्भ मानिने मिथिला माध्यमा परिक्रमा अन्तर्गतका यात्रीहरु आज सदरमुकाम जलेश्वर आइपुगेका छन् । मंगलबार साँझ महोत्तरीकै मटिहानीमा विश्राम गरेका यात्रीहरु आज बिहान जलेश्वर आइपुगेका हुन् ।

परिक्रमामा सहभागीका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पन्ध्रवटै विश्रामस्थलमा बिजुली, खानेपानीलगायतका आवश्यक पूर्वाधारको व्यवस्था मिलाएको छ । परिक्रमा गर्नेहरुले राति गाउँभन्दा टाढा खुला चौर, बगैचा वा पोखरीको डिलमा विश्राम गर्ने गर्दछन् । स्थानीय बासिन्दाहरुले पनि सहभागीहरुका लागि अन्न, दाउराको प्रबन्ध मिलाउँछन् ।

नेपाल भारत दुवै देशको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतिक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरु रहेका छन् । यस यात्राका सहयात्रीले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ ।

मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई मिथिलाञ्चलमा माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएका छन् ।

यस परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सितामढी, बैद्यनाथधामका साधुसन्तहरु समेत उल्लेख्य रुपमा सहभागी हुने गर्दछन् । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ ।​

यसवर्ष गएकाे शनिबारबाट धनुषाको ठेराकचुरीदेखि यात्रा शुभाराम्भ भएको थियो । जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमिकी परिक्रमा विधिवत रुपमा सुरु भएको थियो ।

परिक्रमामा सहभागीहरु क्रमशः जलेश्वर हुँदै मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णीमाका दिन जनकपुरधाम फर्कने परम्परा रहेको छ ।

फागु पुर्णिमाका दिन अन्तगृह परिक्रमा समाप्त भएपछि त्यसको भोलिपल्ट तराईका जिल्लाहरुमा होली मनाउने परम्परा छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया