हेटौँडा उपमहानगरपालिकाकाे बजेट दुई अर्ब ६० करोड

 असार १०, २०७८ बिहिबार १९:७:३६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाले आउँदो आर्थिक वर्षका लागि दुई अर्ब ६० करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आउँदा आर्थिक वर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न साढे दुई अर्ब रुपैयाँभन्दा बढी रकम विनियोजन गरिएको हो । 

आउँदो आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख ७५ हजार रुपैयाँ अनुमान गरिएको छ । उपमहानगरपालिकाले राजस्व बाँडफाँडबाट ५६ करोड आठ लाख ८१ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट १२ करोड ६६ लाख ९६ हजार, सङ्घीय सरकारको अनुदानबाट एक अर्ब दुई करोड एक लाख, नगर विकास कोषबाट ऋण अनुदान नौ करोड र गएको वर्षको नगद मौज्दातबाट ५६ करोड रुपैयाँ बेहोर्ने गरी अनुमान गरिएको उपमेयर मीनाकुमारी लामाले बताउनुभयो । 

यस उपमहानगरपालिकालाई नगर सभापछि सङ्घीय तथा प्रदेश सरकारबाट अख्तियारी प्राप्त हुने सामाजिक सुरक्षा, गरिबसँग विश्वेश्वर कार्यक्रम लगायतका अन्य कार्यक्रमको एकल खाता कोष प्रणालीमार्फत भुक्तानी हुने भएकाले आउँदो आर्थिक वर्षमा यी कार्यक्रमको स्रोत समावेश गरिएको छैन । 

आउँदो आर्थिक वर्षमा उपमहानगरपालिका कार्यालयले सबैभन्दा महत्त्वपूर्ण कामका रूपमा बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि क्रमागत योजना अन्तर्गत १४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उपमेयर लामाले बताउनुभयो । हेटौँडा ४ मा निर्माण हुने बहुवर्षीय योजना अन्तर्गत बहुउद्देश्यीय व्यापारिक भवन निर्माण कार्य सुरु गर्न १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

बृहत्तर चक्रपथ निर्माण कार्य निरन्तरता अन्तर्गत एक्लेखेत राजदेवी, मजुवा दोभानचौर खण्डको सडक स्तरोन्नतिका लागि तीन करोड विनियोजन गरिएको उहाँले बताउनुभयो । हेटौँडा १७ कठायत चोक देखि बालबोध माविसम्मको सडक स्तरोन्नतिका  लागि तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । कर्रा करिडोर  निर्माण निरन्तरताका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । 

सङ्घीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिति एवम् अन्य सङ्घ–संस्थासँगको साझेदारीमा सञ्चालन हुने योजनाका लागि चार करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको उपमेयर लामाले बताउनुभयो । 

यस्तै नगरवासीलाई स्वच्छ खानेपानी व्यवस्थापन गर्न हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसँग सहलगानी कार्यक्रमका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । आयोजनाहरूसहित पूर्वाधार विकास क्षेत्रभित्र पर्ने ऊर्जा, सडक बत्ती, आवास व्यवस्था, जलस्रोत सिँचाइ लगायत नगरस्तरीय पूर्वाधार आयोजना सञ्चालनका लागि एक अर्ब ३० करोड ४५ लाख ७६ हजार रुपैयाँ विनियोजन गरिएको छ । 

त्यसैगरी रोजगार प्रवर्द्धन कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रूपान्तरण पहल कार्यक्रमका लागि एक करोड ५३ लाख रुपैयाँ विनियोजन गरिएको छ । 

यस्तै गुम्बा डाँडा, कुष्माण्ड सरोवर त्रिवेणीधाम, टोनी हेगन पार्क, जुरेथुम पर्यटकीय पार्क, स्वर्गीय वीपी–गणेशमान स्मृति पार्क लगायतका पर्यटकीय पूर्वाधार योजना निर्माणका लागि दुई करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको उपमेयर लामाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया