विकासोन्मुख एशिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाकाे सङ्ख्या सन् २०५...
बैशाख २०, २०८१ बिहिबार
बझाङ - सदरमुकाम चैनपुरमा मुख्य लोकतान्त्रिक चोक नजिकै, जिल्ला समन्वय समितिको अगाडि, खुल्ला मञ्च, क्याम्पस रोड जाने बाटो, रिङरोड जाने बाटो, सुर्मा देवि मन्दिर अघि ठाउँठाउँमा ठूलाठूला भ्वाङ परेको तीन महिना भन्दा बढी भयो । बजार क्षेत्रभित्र मानिसहरुको बाक्लो चाप हुने र गाडी ओहोरदोहोर भइराख्ने भएका कारण दुर्घटनाको समेत उत्तिकै जोखिम बढ्दै गएकाे छ ।
स्थानीय व्यापारी गणेशराज जाेशी माेटरसाइकल, अटाेलगायत साना तथा ठूला गाडी दुर्घटनामा पर्न सक्ने बताउँदै बजार क्षेत्र जाेखिम बनेकाे गुनासाे गर्नुहुन्छ । जाेशी भन्नुहुन्छ 'कतिपय व्यापारीहरू सडककाे आधा भाग ढाकेर सामान राख्नुहुन्छ । सडककाे ठाउँ-ठाउँमा ठूला भ्वाङ परेका छन् । नाली समेत धेरै ठाउँमा ब्रिग्रिएकाे छ । यसले ठूला दुर्घटनाकाे जाेखिम बढाएकाे छ।'
चैनपुर सहरी खानेपानी योजनाले झण्डै दुई वर्षअघि पिच भएकाे सडकलाई भत्काएर खानेपानीकाे पाइप गाडेपछि बजार क्षेत्र झन कुरुप बन्दै गएको जयपृथ्वी नगरपालिका-१० का वडा अध्यक्ष दल बहादुर विष्टले बताउनु भयाे । ‘पिच सडकमा खानेपानीका पाइप गाडेपछि पहिलेको भन्दा बजार क्षेत्रको सडक बिग्रिएको छ । झण्डै दुई वर्षअघि मात्रै सहरी विकास तथा भवन डिभिजन कार्यालय बझाङले पटक-पटक गरी ६ करोड बराबरको लगानीमा सडक मर्मत तथा निर्माण गरेको थियो । अहिले सडककाे अवस्था निक्कै बिजाेग भएकाे छ’ उहाँले भन्नु भयाे ।
२१ करोडको लगानीमा चन्दा एण्ड वसन्ता निर्माण सेवा र ग्वाल्लेख निर्माण सेवाले चैनपुर सहरी खानेपानी योजनाको ठेक्का पाएको हाे । अहिले ग्वाल्लेख निर्माण सेवाले खानेपानी योजनाको काम गरिरहेको छ । खानेपानीका पाइप गाडेर राम्रोसँग पिच नगर्दा बजार क्षेत्रभित्र जताजतै भ्वाङ परेकाे स्थानीय बताउँछन् ।
यस विषयमा कसैको पनि ध्यान जान नसक्नु लज्जास्पद कुरा भएको महिला अधिकार मञ्चका अध्यक्ष जयन्ती जाेशी बताउनु हुन्छ । नालीहरु सफा गर्ने, टहराहरु भत्काउने, सडक चौडा पार्ने जस्ता थुप्रै योजना रहेका भए पनि कागजमै सीमित भएकाे उहाँले बताउनु भयाे ।
जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्काले आफूले पटक-पटक निर्माण कम्पनी, खानेपानी विकास समिति चैनपुरसँग समन्वय गरी कुरा अगाडि बढाएकाे बताउनु भएकाे छ । अबको एक/दुई दिनभित्र नै बिग्रिएको सडक बनाउने सहमति समेत भएकाे उहाँले बताउनु भयाे ।
प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले प्रशासनको तर्फबाट खानेपानी विकास समितिलाई पत्राचार गरिसकिएको र जयपृथ्वी नगरपालिकाका जनप्रतिनिधिहरुसँग पनि यस विषयमा छलफल गरी छिट्टै सडक मर्मत गर्नुपर्ने सल्लाह दिएको बताउनु भयाे। साथै ग्वाल्लेख निर्माण सेवाका ठेकदार सुरेश पन्तले पनि अहिले खानेपानी योजनाको ८० प्रतिशत काम सकिएकाे र जतिसक्दाे चाँडाे काम सम्पन्न गरी बिग्रिएकाे सडक निर्माण गरिने बताउनु भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।