नेपालगञ्जको चार लेन सडकमा पप्पु कन्स्ट्रक्सनको गम्भीर लापरवाही

 भदौ १३, २०७५ बुधबार १६:४९:३७ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्जको चार लेन सडक निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रक्सनले गम्भीर लापरवाही गरेको फेला परेको छ । 

नेपालगञ्ज उपमहानगरपालिका र खानेपानी कार्यालयको टोलीले सुर्खेतरोडको वीपी चौक नजिकै सडक मर्मत गर्ने क्रममा पप्पुले पुराना पुल र आधा भएको ह्यूमपाईपका बीचमा माटो पटान गरेर माथि कालोपत्रे गरेको भेटिएको नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक मेयर प्रमोद रिजालले जानकारी दिनुभयो ।
 
‘पटक–पटक सडक भास्सिएपछि उपमहानगरपालिका आफैंले मर्मतसम्भारका लागि खन्ने क्रममा निर्माण कार्यमा गम्भीर लापरवाही भएको पाइयो’, कार्यबाहक मेयर रिजालले भन्नुभयो, ‘सडक निर्माणमा चरम लापरवाही गर्ने निर्माण कम्पनीलाई कारवाही गर्नुपर्ने देखिन्छ ।’

उपमहानगरपालिकाका इञ्जिनियर सुरज शर्माले सडक निर्माणमा त्रुटी गरिएका कारण अहिले पानी चुहिने समस्याले सडक भास्सिने गरेको बताउनुभयो ।
 
नेपालगञ्जमा चार-लेन सडक निर्माण सम्पन्न भएको लामो समय बिते पनि निर्माण कम्पनीको लापरवाहीका कारण बारम्बार दुर्घटनाहरु हुने गरेका छन् ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख अर्जुनकुमार बमले पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको सडक अझसम्म पनि हस्तान्तरण भइनसकेको बताउनुभयो ।  

रकम भुक्तानीका लागि पप्पु्ले अदालतमा मुद्दा समेत दायर गरेको छ । 

भारतीय सीमाको जमुनाहादेखि कोहलपुरसम्मको २२.२२५ किलोमिटर सडकमध्ये नेपालगञ्जको सडक बारम्बार बिग्रने गरेको छ । 

नेपालगन्ज–कोहलपुर सडकखण्ड दुइ भागमा निर्माण गरिएको हो । जमुनाहादेखि राँझासम्मको १०.५ किलोमिटर सडकको ठेक्का एएमआर पप्पु कन्स्ट्रक्सन जेभीले  २९ मार्च २०१३ मा २ जुन २०१५ मा निर्माण सक्ने गरी ४५ करोड ८ लाख ७९ हजार २०० रुपियामा ठेक्का पाएको हो ।

पटक –पटक म्याद थप गर्दै लागत बढाइए पनि सडकमा ठाउँठाउँमा खाल्डाखुल्डी हुँदा चार-लेन सडकमा आवागमनमा समस्या हुने गरेको छ ।

नेपालगञ्जको मुख्य सडक खण्डको रुपमा रहेको सुर्खेतरोडको चारलेन सडक ठाउँठाउँमा खाल्डाखुल्डी भई आवागमनमा असहज भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले मर्मतसम्भार थालेको छ । 

कार्यवाहक मेयर रिजालको अग्रसरतामा नेपालगञ्जमा सडक मर्मत थालिएको हो ।

सडक मर्मतका लागि बुधबार बिहानैदेखि कार्यबाहक मेयर रिजालसहितको टोली सडकमा खटिएको छ । 


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया