हेटौँडा अस्पतालमा पाँच तले भवन बन्दै, छिटाे काम सकेर पुरस्कार लिन मुख्यमन्त्रीकाे आग्रह

 साउन १९, २०७८ मंगलबार १४:१४:५७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा अस्पतालमा नयाँ भवन निर्माणको काम सुरु भएको छ । अस्पतालमा शय्या थपिँदै गएपछि भवन पनि थप गर्न लागिएको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालका लागि पाँच तले भवन निर्माण सुरु गरिएको हो । अस्पतालको भवनको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभयो ।

अस्पतालको भवन भ्याटसहित २३ करोड २७ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको छ । पाँच तले भवनमा दुई सय शय्या हुनेभएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयले गएको असार १८ गते नै बीकेओआई र नव श्रीजनशील निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको सहरी विकास तथा भवन कार्यालय हेटौँडाका सिनियर डिभिजन इन्जिनियर राजेशकुमार पौडेलले जानकारी दिनुभयो । तीन वटा ब्लकमा निर्माण हुने भवनको एउटा ब्लकमा पार्किङ गर्नका लागि अन्डरग्राउन्डसमेत निर्माण गरिने भएको उहाँले बताउनुभयो । निर्माण कम्पनीले २०८० पुस १६ गतेभित्र अस्पताल निर्माणको काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

यो भवन निर्माण भएपछि हेटौँडा अस्पतालमा पाँच सय शय्या पुर्याउने प्रदेश सरकारको लक्ष्यलाई थप सहयोग पुग्ने छ । 

हेटौँडा अस्पताललाई नौ सय शय्याको बनाउँछौँ : मुख्यमन्त्री पौडेल

भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौँडा अस्पताललाई निकट भविष्यमा पाँच सय शय्याको बनाउने बताउनुभएको छ । नयाँ भवनको शिलान्यास गर्दै उहाँले भन्नुभयो, ‘दुई वर्षभित्रमा स्तरवृद्धि गरेर अस्पताललाई पाँच सय शय्यासम्मको बनाउँछौँ, त्यसपछि सबै भवन निर्माण भइसकेपछि नौ सय शय्यासम्मको बनाउने छौँ ।’ हेटौँडामा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरिएको मुख्यमन्त्री पौडेलको भनाइ छ । पहिले हेटौँडा अस्पतालबाट धेरै बिराम रेफर हुने भए पनि अब भने बाहिरी जिल्लाबाट बिरामी रिफर भएर हेटौँडा अस्पताल आउने वातावरण सिर्जना भएको उहाँले बताउनुभयो । 

हेटौँडा अस्पताललाई प्रदेशकै गहनाको रूपमा अगाडि बढाइने उहाँले बताउनुभयो । निर्माण कम्पनीलाई भवन निर्माणको काम छिटो सकेर पुरस्कार लिनका लागि समेत मुख्यमन्त्री पौडेलले आग्रह गर्नुभयो । निर्माण कम्पनीले काम समयमै नसक्दा सरकार बदनाम हुने गरेकाले समयमै कम सक्न उहाँले निर्देशनसमेत दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया