मेराे सरकारकाे ४२ महिनामा प्रदेशमा काँचुली फेरिने गरी काम भएकाे छ : डाेरमणि पाैडेल

 भदौ ३, २०७८ बिहिबार १९:३६:१२ | हरि हुमागाईं
unn.prixa.net

फाइल फाेटाे

मकवानपुर – वाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो सरकारको ४२ महिनामा प्रदेशका जिल्लासँगै हेटौँडामा काँचुली फेरिने गरी काम गरिएको बताउनुभएको छ । आज बिहीवार पत्रकार सम्मेलन गर्दै उहाँले हेटौँडाका हरेक क्षेत्रमा विकासले गति लिएको बताउनुभयो ।

हेटौँडा राजधानी भएकाले अब यहाँको विकासलाई कसैले चाहेर पनि रोक्न नसक्ने पौडेलको तर्क छ । अहिलेसम्म आफ्नो नेतृत्वको सरकारले गरेका काम अत्यन्तै राम्रो रहेको उहाँले दाबी गर्नुभयो । हेटौँडाको अस्पताल, रङ्गशाला, सडक निर्माणलगायतका क्षेत्रमा धेरै विकास गरिएको उहाँले बताउनुभयो ।

हेटौँडा ६ गौरीटारमा रहेको राष्ट्रिय खेलकुद प्रतिष्ठानमा खेलकुद विकासका विभिन्न काम भइरहेको बताउँदै निवर्तमान मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘हेटौँडा प्रदेशको राजधानी भएको छ । अब यहाँको विकासलाई कसैले रोक्न सक्दैन । म सरकारमा भए पनि नभए पनि प्रदेशको राजधानी विकासको लागि प्रदेश सरकारले काम गर्नेछ । म हुँदा चाँडो हुन्थ्यो होला, नहुँदा ढिलो हुन सक्छ तर काम हुनबाट कसैले रोक्न सक्दैन ।’

तीन वर्षमा प्रदेशको १३ वटै जिल्लामा विकासका काम भएको बताउँदै उहाँले भन्नुभयो, ‘आफूले तीन वर्ष मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दा प्रदेशको भौतिक पूर्वाधार, सामाजिक, स्वास्थ्य, शिक्षा, खेलकुद, सुशासनको क्षेत्रमा महत्त्वपूर्ण काम भएको छ ।’

मुख्यमन्त्री पौडेलले हिजो बुधवार नेकपा एमाले पार्टीको एकता हितका लागि भन्दै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । वाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सदस्य डोरमणि पौडेलले नेकपा एमालेमा अब कुनै पनि गुट–उपगुट नरहेको बताउनुभएको छ । 

पार्टीलाई जोगाउनका लागि आफूले राजीनामा दिएको बताउँदै उहाँले भन्नुभयो, ‘मलाई पद छोड्नुपर्दा कुनै दुःख लागेको छैन । जसरी पनि १५ महिनापछि त पद छोड्नै पथ्र्यो । अहिले छोड्दा पार्टीको ठूलो फुट हुनबाट जोगाएको छु । पार्टीभित्र हिजो गुट थियो । अब हुने छैन ।’ वर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पार्टी फुटको विरुद्धमा लाग्नु भएकाले आफूले मुख्यमन्त्री छोडेर उहाँलाई बनाएको पौडेलले बताउनुभयो ।

निवर्तमान मुख्यमन्त्री पौडेलले प्रतिकूलताका बीच पनि साढे तीन वर्ष काम गर्दा असन्तुष्ट हुनुपर्ने कुनै पनि कारण नरहेको दाबी गर्दै अरू प्रदेशको भन्दा वाग्मती प्रदेशमा बढी काम भएको पनि दाबी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया