जुम्ला कांग्रेसमा सभापतिको दौड सुरु, आकाङ्क्षी धेरै

 भदौ २१, २०७८ सोमबार १९:५७:० | नेत्र शाही
unn.prixa.net

जुम्ला – नेपाली कांग्रेसको जिल्ला अधिवेशन नजिकिँदै जाँदा जिल्ला सभापति पदमा नेता, कार्यकर्ताको दौड बढेको छ । जिल्ला सभापतिमा वर्तमान सभापति दीपबहादुर शाहीसहित पाँच जना आकाङ्क्षी देखिएका छन् । पार्टी सचिव कर्णबहादुर शाही, पूर्व वनमन्त्री भक्तबहादुर रोकाया, महाधिवेशन प्रतिनिधि लंकबहादुर शाही र नेता खड्क सेजुवालको नाम पनि सभापति पदको चर्चा आएको छ । 

चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालको हल्ला भए पनि आफ्नो उम्मेदवारीको विषयमा यकिन नभइसकेकाे उहाँले जानकारी दिनुभयो । 

जिल्ला अधिवेशन नजिकिँदै गएपछि जिल्ला सभापतिका लागि पाँच जनाकाे नाम चर्चामा आएको हो । सभापतिको तयारीका लागि अहिले कार्यकर्ता भेटघाट तथा नेतासँग लबिङ तीव्र चलिरहेको छ । 

वर्तमान सभापति दीपबहादुर शाही रामचन्द्र पौडेल पक्षतर्फका हुनुहुन्छ । 

यस्तै सभापतिमा देउवा पक्षका भने धेरैको देखिएका छन् । सचिव कर्णबहादुर शाहीका अनुसार देउवा पक्षबाट आफूसहित लंकबहादुर शाही, भक्तबहादुर रोकाया, खड्क सेजुवालसहितका नेताहरूको नाम आएको छ । जिल्ला सभापतिको आकाङ्क्षी धेरै देखिएपछि कार्यकर्ताले सहमति गरेर सर्वसम्मत नेतृत्व चयनका लागि दबाब दिन थालेका छन् । 

तत्कालीन कांग्रेस सभापति मानव सेजुवालको निधनपछि शाहीले कार्यवाहक जिल्ला सभापतिका रूपमा भूमिका निभाउँदै आउनुभएकाे थियाे । उहाँकाे दुई कार्यकाल बितिसकेकाले सभापति शाहीले नयाँ व्यक्तिलाई अवसर दिनुपर्ने पनि कार्यकर्ताको माग छ ।  

जुम्लामा का‌ंग्रेसभित्र दुई गुट छ । देउवा र पाैडेल गुटले आफ्नाे पक्षमा धेरै जना भएकाे दाबी गर्दै आएका छन् । 

सभापति शाहीले जुम्लाका आठ पालिकामध्ये चार वटा पालिकामा जित हासिल गर्नु आफ्नो कार्यकालको महत्त्वपूर्ण उपलब्धि भएको जानकारी दिनुभयो ।

‘म पार्टी सभापति भएपछि थुप्रै ठाउँमा सरकारमा रहेका कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता आफ्नाे पार्टीमा प्रवेश गराउन सफल भएका छौँ । पालिकामा पनि जित्यौँ । अहिले कांग्रेसको पक्षमा जिल्लाभर माहोल छ । यो माहोल बिग्रिन नदिनका लागि एक पटक फेरि मेरो नेतृत्वमा कांग्रेस अघि बढ्नुपर्छ भन्ने लाग्छ ।’ 

सभापतिका आकाङ्क्षी लंकबहादुर शाही आफूले जीवन कांग्रेसमा दिएकाले एक पटक पार्टीले अवसर दिनुपर्ने बताउनुहुन्छ । शाही साविक बड्की गाविस अध्यक्ष हुँदै कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया