नेपाल प्रहरीले आफ्नो छविमा व्यापक सुधार गरेको छ : मुख्यमन्त्री शाक्य

 असोज २०, २०७८ बुधबार २०:१२:४९ | हरि हुमागाईं
unn.prixa.net

 मकवानपुर - वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अहिले नेपाल प्रहरीले आफ्नो छविमा व्यापक सुधार गरेको बताउनुभएको छ । प्रहरी दिवसका अवसरमा आज बुधवार वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाक्यले भौतिक तथा प्राविधिक रूपमा सम्पन्न नभए पनि प्रहरीले कार्य कुशलतालाई प्रयोग गर्न सकेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री शाक्यले प्रहरीको व्यावसायिकतालाई वृद्धि गर्न प्रदेश सरकार पूर्णरूपमा तयार रहेको धारणा राख्नुभयो । उहाँले प्रहरीभित्र भएका बेथितिलाई न्यूनीकरण गर्दै प्रहरी सङ्गठन व्यावसायिक, मर्यादित तथा सबैको साथी सङ्गठनको रूपमा विकास हुनुपर्नेमा जोड दिनुभयो । शाक्यले समाजमा वृद्धि हुँदै गएको बलात्कार, सामाजिक हिंसा तथा आत्महत्या जस्ता क्रियाकलापलाई रोक्ने राज्यकातर्फबाट खेल्नुपर्ने भूमिकाका बारेमा सुझाव माग्नुभयो ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यले प्रदेश सरकारले नेपाल प्रहरीका लागि ४० भन्दा बढी भवन निर्माण गरिसकेको तथा सवारीसाधन उपलब्ध गराएको र चालु आर्थिक वर्षका लागि ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

उहाँले प्रदेश सरकार नेपाल प्रहरीलाई सबै पक्षमा सबल र चुस्त बनाउन चाहने उल्लेख गर्दै नेपाल सरकारले प्रहरी समायोजनलाई चाँडै टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभयो । प्रदेश सरकारले प्रहरी ऐन जारी गरिसकेको अवस्थामा प्रहरी समायोजनको काम अगाडि बढाइनुपर्ने उहाँको धारणा थियो ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाशजंग कार्कीले प्रहरीको इतिहास र वर्तमानको अवस्था लगायतबारे प्रकाश पार्नुभएको थियो । प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले प्रहरी सङ्गठनका प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले पठाउनुभएको सन्देश वाचन गरेर सुनाउनु भएको थियो ।

६६ औँ प्रहरी दिवसका अवसरमा प्रहरी सेवामा उत्कृष्ट काम गर्ने प्रहरीहरूलाई आज प्रशंसा पत्र प्रदान गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया