धनगढीमा प्रहरीको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला

 कात्तिक १०, २०७८ बुधबार १२:८:५४ | सीताराम ओझा
unn.prixa.net

कैलाली – धनगढीमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । कैलालीका जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला न्यायाधीश पनेरूले जानकारी दिनुभयो । 

उनीहरुले अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदकाे हत्या गरेका थिए । नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेका थिए ।

हत्याकाण्डको अनुसन्धानका क्रममा धनगढीका व्यापारी राजिव गुप्ता पनि पक्राउ परेका थिए । जिल्ला न्यायाधीश जयानन्द पनेरुको इजलासले अन्य ९ जनालाई जन्मकैदको फैसला सुनाएकोमा गुप्तालाई भने सफाइ दिएको छ । प्रहरीको हत्या भएको राति जुगेडा क्षेत्रबाट तस्करी भएको सामान गुप्ताको भएको खुलेपछि उनलाई पक्राउ गरिएको थियो भने पछि उनी धरौटीमा छुटेका थिए ।

सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता सुरबहादुर परियारले गुप्ताको हत्यामा संलग्नता नदेखिए भन्दै उनलाई सफाइ दिइएको जानकारी दिनुभयो । 'गुप्तालाई मतियार बनाएर अनुसन्धान गरिएको थियो', उहाँले भन्नुभयो, 'तर उनको संलग्नताबारे ९ जनाले पनि केही बोलेनन् । प्रत्यक्ष संलग्न पनि देखिएनन् ।'

 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया