सङ्कटग्रस्त जिल्ला घोषणाका लागि पहल गर्ने गृह मन्त्रीकाे प्रतिबद्धता

 कात्तिक १७, २०७८ बुधबार २०:७:१० | डीबी बिष्ट
unn.prixa.net

बझाङ – गृह मन्त्री बालकृष्ण खाणले बाढी, पहिराेबाट ठूलो जनधनको क्षति भएको बझाङलगायत सुदूरपश्चिमका डडेल्धुरा र बैतडीलाई सङ्कटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने बताउनुभएको छ । 

बाढी, पहिराेका कारण भएको क्षतिको निरीक्षण गर्न बझाङको खप्तड छान्ना गाउँपालिकामा आउनुभएका मन्त्री खाणले बाढी, पहिराेका कारण बझाङलगायत डडेल्धुरा र बैतडीमा ठूलो जनधनको क्षति भएकाले यी जिल्लालाई तत्कालै सङ्कटग्रस्त जिल्ला घोषणा गरेर पूर्वाधार निर्माणमा जोड दिने बताउनुभएको हो  । 

प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृह मन्त्री खाणले खप्तड छान्नाको ऐचेली बगरमा बाढी, पहिराेबाट प्रभावित स्थानीय नागरिकसँग क्षतिबारे छलफल गर्नुभयो । उहाँले प्रधानमन्त्री विदेशबाट फर्किसकेपछि मन्त्रिपरिषद्को निर्णयबाट बझाङ, बैतडी र डडेल्धुरा जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषण गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

उहाँले प्रभावित परिवारलाई प्रक्रिया पुर्‍याएर प्रमुख जिल्ला अधिकारीमार्फत तत्काल राहत उपलब्ध गराउने जानकारी दिनुभयो । मन्त्री खाणले बाढी, पहिराेमा परेर ज्यान गुमाएकाकाे परिवार र घरसमेत नष्ट भएका परिवारका लागि तत्कालै सरकारले प्रति परिवार ५० हजार रुपैयाँ दिने निर्णयसमेत गरिसकेकाले त्याे रकम लिनका लागि स्थानीयवासीलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्क रोकायाले पालिकामा भएको जनधनको क्षतिका बारेमा जानकारी गराउनुभएको थियो । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लामा भएको क्षतिका बारेमा मन्त्री खाणलाई जानकारी गराउनुभएको थियो । 

गएकाे असोज ३१ देखि कात्तिक ३ गतेसम्म बाढी, पहिरोबाट बझाङमा १२ जनाको ज्यान गएकाे थियो भने १९ जना बेपत्ता भएका थिए । बाढी, पहिरोबाट हजाराैँ हेक्टर जमिन बगरमा परिणत हुनाका साथै झन्डै एक सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।    

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया