पृथ्वी जयन्तीकाे अवसरमा गोरखादेखि काठमाण्डौसम्म सेनाकाे पदयात्रा शुरु

 पुस २१, २०७८ बुधबार १३:३२:१ | किरण लोहनी
unn.prixa.net

गोरखा – पृथ्वी जयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखादेखि काठमाण्डौसम्म पदयात्रा शुरु गरेको छ । ऐतिहासिक महत्वको एकीकरण अभियानलाई हर्षोल्लासका साथ मनाउन गोरखादेखि काठमाण्डौसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा शुरु गरिएको सेनाले जनाएको छ । 

नेपाली सेनाले दुई वर्षदेखि यही बाटो हुँदै काठमाण्डौसम्म पदयात्रा गर्दै आएको छ । नेपाली सेनाको मध्यकमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ र गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले नेपालको राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गरि पदयात्राको शुभारम्भ गर्नुभएको हो । आज गोरखा दरवारबाट शुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै पृथ्वीजयन्तीको दिन अर्थात् पुस २७ गते काठमाण्डौ पुग्ने गोरखाको रिपुमर्दन गणले जनाएको छ । 

पदयात्रामा बाजागाजा सहित पृथ्वीनारायण शाहकालीन नेपाली सेनाको पोशाकमा रिपुमर्दन गणको फौज सहभागी भएको छ । 

यात्राको क्रममा टर्च सहितको नेपालको झण्डा सहित पृथ्वीनारायण शाहको पालामा स्थापना भएका सेनाका प्रथम पाँच कम्पनीका झण्डा पनि समावेश गरिएको गणका सेनानी प्रकाश परियारले जानकारी दिनुभयो । पृथ्वीनारायण शाहको पालामा श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज नाममा ५ कम्पनी स्थापना भएका थिए । तत्कालीन कम्पनीहरु अहिले पनि सेनाको गणका रुपमा रहेका छन् । पदयात्राका क्रममा गोरखाको टोलीले नेपाली सेनाको धादिङको टोलीलाई, धादिङले नुवाकोटको टोलीलाई र नुवाकोटमा तैनाथ नेपाली सेनाको टोलीले काठमाण्डौंमा तैनाथ गणलाई टर्च, राष्ट्रिय झण्डा र सेनाका ५ कम्पनीको झण्डा हस्तान्तरण गर्नेछ । 
काठमाण्डौको गणले पृथ्वीजयन्तीको दिन काठमाण्डौमा हुने कार्यक्रममा भाग लिने नेपाली सेनाले जनाएको छ । सरकारले गोरखादेखि काठमाण्डौसम्मको पुरानो बाटोलाई एकीकरण पदमार्गका रुपमा विकास गर्न थालेको हो । सेनाले यस पदमार्गको अध्ययन पूरा गरेको छ । गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाण्डौबाट काभ्रेसम्मको करिब १ शय ९२ किलोमिटर बाटोलाई सरकारले एकीकरण पदमार्गको रुपमा प्रबद्र्धन गर्न लागेको हो । नेपाली सेनाको गोरखामा रहेको गणले भने गोरखाभित्रको बाटोको अध्ययन गरेको छ । 

काठमाण्डौको हनुमानढोकाबाट गोरखा दरबार २६ कोषको दूरीमा रहेको छ । बाटोको बीचबीचमा रहेका अधिकांश कोसेढुंगा हराएका छन् भने भएकाको पनि संरक्षण हुन सकेको छैन । एकीकरण पदमार्गमा पर्ने गोरखाखण्डमा ६ वटा कोसेढुंगा हुनुपर्नेमा ५ वटामात्रै सुरक्षित छन् । गोरखा दरवारको हनुमान भञ्ज्याङ, मेलबिसौना, ताप्लेकोट, अश्राङको ठाँटी र बोर्लाङको घाटवेसीको कोसेढुंगा सुरक्षित छन् । यस्तै पदमार्ग आसपास दर्जनौं ऐतिहासिक मठमन्दिर, गुम्बा, पाटीपौवा लगायतका पुरातात्विक सम्पदाहरु रहेका छन् । पदमार्गको धेरैजसो खण्डमा भने मध्यपहाडी लोकमार्ग निर्माण भैरहेको छ । जसका कारण ऐतिहासिक सम्पदा नासिने जोखिम पनि बढेको छ । पुरानो हुलाकी मार्गका रुपमा रहेको बाटो आसपासका पुराना चौताराहरुको पनि संरक्षण हुन सकेको छैन । 

पदयात्रामा सहभागी सेनाको टोलीको बिदाई कार्यक्रममा बोल्दै नेपाली सेनाको मध्यकमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले पदमार्गमा पर्ने सम्पदाहरुको संरक्षणमा पनि सेना सहभागी भैरहेको बताउनुभयो । उहाँले राष्ट्रिय एकताको सन्देश दिन सेनाले पदयात्राको थालनी गरेको पनि जानकारी दिनुभयो । यस्तै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले त्यस्ता सम्पदाको संरक्षणमा नेपाली सेनालाई गोरखा, धादिङ, नुवाकोट र काठमाण्डौका स्थानीय सरकारले साथ दिनुपर्ने बताउनुभयो । यस्तै, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले एकीकरण पदमार्गमा पर्ने जिल्लाहरुबीच त्यसको प्रचारप्रसारका लागि समन्वय हुनुपर्ने बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया