काठमाडौं टुँडिखेलको झल्को दिने कार्यक्रम प्रदेश सरकारले विराटनगरमै देखायो

 असोज ३, २०७५ बुधबार १५:२१:४० | सुमन तिमल्सिना

मोरङ – प्रदेश एककाे सरकारले बुधबार भव्य रुपमा संविधान दिवस मनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश सरकारले नमुनाको रुपमा भव्य कार्यक्रमको आयोजना गरेको हो ।

सरकारको छनक देखिने गरी विराटनगरमा भएको कार्यक्रममा एक नम्बर प्रदेशको संस्कृति झल्कने बाजागाजा तथा झाँकीहरु प्रस्तुत भएका थिए ।  

एक नम्बर प्रदेशको राई, लिम्बू, बाँतर धिमाल जातिका झाँकीसँगै लाखे, बालन तथा संगिनी नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई हेर्दै गर्दा काठमाडौँको टुँडिखेलको भन्दा कमी थिएन । काठमाडौंलाई बिर्साउने गरी भएको सविधान दिवसको कार्यक्रमले सबैलाई संविधान प्रतिको आशा र विश्वास अपनत्व गराउनु रहेको प्रदेश सरकारको उदेश्य देखिन्थ्यो ।

प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले मात्र सम्बोधन गरेको कार्यक्रममा एक नम्बर प्रदेशका अति विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले संविधानको भावना र मर्मलाई व्यवहारिक रुपमा रुपान्तरण गर्न संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको बताउनुभयो ।

समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गरी आर्थिक विकास एवम् समृद्धि हासिल गर्दै सबल राष्ट्र निर्माणको बलियो आधार तयार गरेर अगाडि बढ्नुको विकल्प नरहेको उल्लेख गर्दै मुख्यमन्त्री राईले संविधानबमोजिम संघ, प्रदेश र स्थानीय सरकारहरु सञ्चालन भैरहेको र तदनुरुप नयाँ शासन शैलीको अभ्यास गरिरहेको बताउनुभयो ।

प्रदेश स्थापना भएपश्चात्  प्रदेश सञ्चालन गर्न प्रदेशसभा, प्रदेश प्रमुखको कार्यालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालयका अलावा प्रदेशका सवै विषयगत मन्त्रालयहरु स्थापना भई मन्त्रालयहरुको कार्य विभाजन गरी मन्त्रालयहरुले आफूलाई तोकिएका कार्य सम्पादन गरिरहेको बताउनुभयो । 

प्रदेशमा तत्काल आवश्यक पर्ने कानुनहरु बनाई कार्यान्वयनमा ल्याउने काम भइरहेको सुनाएका मुख्यमन्त्री राईले संवैधानिक व्यवस्था, संघीय सरकारको मार्गनिर्देशन एवं प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रमले सम्बोधन गरेका विषयहरुलाई वार्षिक बजेटमा समावेश गरी त्यस्ता विषयहरु कार्यान्वयन गर्न चौमासिक रुपमा आवश्यक कार्य भैरहेको उल्लेख गर्नुभयो ।  

प्रदेशका नागरिकको समृद्धि, सुशासन र सम्मानको चाहनालाई मुर्त रुप दिइ पूरा गर्न सरकार संवेदनशील रहेको मुख्यमन्त्री राईको दावी छ ।  प्रदेश सरकारले आफनो वार्षिक नीति कार्यक्रम र बजेटका अतिरिक्त नागरिक सचेतना, सुरक्षा र सम्मानका लागि घर–घरमा स्टिकर टाँस अभियान अत्यन्तै प्रभावकारी रुपमा सञ्चालन गरिसकिएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री राईले सडक सुरक्षा र सुशासनको अभियानलाई अगाडि बढाउने घोषणा गरिसकिएको बताउँदै  संविधानले निर्दिष्ट गरेका व्यवस्थालाई कार्यान्वयन गर्न सरकार कटिबद्ध र प्रतिबद्ध रहेकोमा जोड दिनुभयो ।
 
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया