फाेहाेर गर्नेलाई काेशी अस्पतालले कारबाही गर्ने, अब ‘बिरामीले घुमेकाे घुम्यै गर्न नपर्ने’

 जेठ १२, २०७९ बिहिबार २०:३५:२१ | सुमन पुरी
unn.prixa.net

मोरङ – कोशी अस्पतालको सुधारका लागि सरसफाइबाट काम सुरु गर्ने अस्पताल प्रशासनले जनाएको छ । तत्काल गर्न सकिने काम सरसफाइ नै भएका कारण अहिलेलाई यसमा ध्यान दिने  अस्पताल प्रशासनको तयारी छ ।   

संवाद समूहको आयोजनामा आज बिहीवार विराटनगरमा भएको कार्यक्रममा अस्पताल विकास समिति र अस्पताल प्रशासनले फोहाेरमैला व्यवस्थापन गर्न कानुनी कारबाहीमा जाने तयारी गरेको हो । अस्पताल परिसरमा चुरोट खान नदिने, जाँड–रक्सी अस्पतालमा प्रवेश नदिइने, जथाभाबी थुक्ने, फोहाेर फाल्ने गरेको पाइएमा कानुनी प्रक्रियामा लगिने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट यज्ञ खरेलले बताउनुभयो । ‘अस्पताललाई सफा बनाउने अभियानमा मेरो दृढ इच्छाशक्ति छ, यो अभियानमा दलहरूले पनि सहयोग गर्नुपर्छ’, उहाँले भन्नुभयो । 

अस्पताल प्रशासनले अस्पतालभित्र फोहाेर व्यवस्थापन गर्नेबारेमा सूचना टाँस्ने, प्रचारप्रसार गर्ने र अटेर गरेको पाइएमा कारबाही गरिने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट खरेलको भनाइ छ । 

अस्पतालभित्र दिइने सेवा र डाक्टर रहने समयको बारेमा जानकारी दिने खालका बोर्ड र सङ्केतहरू पनि राख्ने अस्पताल प्रशासनले प्रतिबद्धता जनाएको छ । कोसी अस्पतालमा कार्यालय समयमा पनि डाक्टर नबस्ने गुनासो आएपछि त्यसलाई कडाइका साथ कार्यान्वयनमा लान बोर्डसहित कुन सेवा कहाँ लिन पाइन्छ भन्ने सङ्केतहरू राखिने अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले जानकारी दिनुभयो । संवाद समूहको समन्वयमा अस्पताल प्रशासन र दलहरूकाबीच  अस्पतालभित्रै हरेक महिना नियमित छलफल गर्ने अस्पताल प्रशासनले प्रस्ताव गरेको छ ।

यस्तै अस्पतालमा उपचार गर्न आउने नागरिक अन्योलमा पर्ने, घुमेको घुम्यै हुने तर उपचार गर्ने ठाउँ नपाएको गुनासो आएपछि अस्पतालले तत्काल हेल्प डेस्क सञ्चालन गर्ने पनि जनाएको छ ।   

हामी सघाउँछौँ : दल

अस्पताल प्रवेश गर्ने मुख्य गेटमा अव्यवस्थित रूपमा रोकिने अटो लगायतका सवारी साधनले बिरामी र एम्बुलेन्सलाई आवतजावतमा समस्य भइरहेको भन्दै त्यसलाई व्यवस्थापन गर्न अस्पताल प्रशासनले ट्राफिक प्रहरीको सहयोग लिने बताएको छ ।

अस्पतालको गेटदेखि भित्रैसम्म अटोका कारण समस्या भइरहेकाले त्यसलाई व्यवस्थापन गर्न नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले सुझाव दिनुभयो । उहाँले अस्पतालको तर्फबाट भएको प्रतिबद्धता कार्यान्वयन गर्न पनि आग्रह गर्नुभयो । ‘कोसी अस्पताल सुधारका लागि दलहरूको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कमी भएको छैन, सहयोग रहिरहनेछ । अस्पताल प्रशासनले आफूले गरेको प्रतिबद्धता कार्यान्वयन गर्नुपर्‍याे’, उहाँले भन्नुभयो । 

उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले अस्पतालले सूचना प्रणालीलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । अनुहार चिनिने मान्छे गयो भने सहजै उपचार पाउने र नयाँ व्यक्ति उपचारका लागि गयो भने अलमल पर्नुपर्ने अवस्थाको अन्त्य गर्न उहाँको आग्रह छ । अस्पतालमा उपचारका लागि पुगेका सेवाग्राहीले सोधेका प्रश्नको जवाफ नदिने, सोध्यो भने झर्किएर जवाफ दिँदा नागरिकप्रति अन्याय हुने उहाँ बताउनुहुन्छ । 

नेपाली कांग्रेसका जिल्ला उपसभापति भक्तिनाथ माझीले अस्पताल सरसफाइमा धेरै काम भए पनि नागरिकका समस्याबारे भने काम गर्न नसकेको बताउनुभयो ।  ‘अस्पतालले नागरिकलाई समस्या परेको बेला समाधान गर्न चासो नदिएको जस्तो देखियो’, उहाँले भन्नुभयो, ‘कुनै बिरामीले आधा घण्टा कुर्नु पर्यो भने कहाँ राख्ने भन्ने चिन्ता छ, यसबारे पनि पहल होस् ।’ 

नेकपा एमालेका जिल्ला सचिव रुपेश खतिवडाले अस्पतालले सेवामा सुधार गर्दैछौँ भने पनि आमनागरिकले सेवा पाउन निकै गाह्रो रहेको बताउनुभयो । ‘अस्पतालले सरसफाइका  मापदण्ड पूरा गरेको छैन’, उहाँले भन्नुभयो, ‘कोशी अस्पताल नचलेको फ्याक्ट्रीको गोदाम घरजस्तो देखिएको छ, सरसफाइको अवस्था हेर्दा दर्दनाक देखिन्छ ।’ 

घाम पानीबाट जोगिने र बस्ने खालको प्रतिक्षालयसमेत नभएको उहाँले गुनासो गर्नुभयो । अस्पतालमा डाक्टर भए पनि पूरा समय काम नगरेको खतिवडाले टिप्पणी गर्नुभयो । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जिल्ला अध्यक्ष मोहम्मद कादिरले नागरिकले उपचार गर्न आउँदा फोन गरेर आउनुपर्ने बाध्यता रहेको सुनाउनुभयो । यद्यपि पहिलेको भन्दा अहिले अस्पताल व्यवस्थापनमा केही सुधार भएको बताउनुभयो । कर्मचारीको व्यवहारमा परिवर्तन गरिनुपर्ने उहाँको सुझाव छ । 

राप्रपाका सचिव टंक गुरागाईले अस्पताल कस्तो बनाउने भन्ने हात प्रशासनको जिम्मेवारी लिएका व्यक्तिको हुने बताउनुभयो । विशेषज्ञ डाक्टरकोमा जाँदा मुख थुनेर जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया