वैदेशिक रोजगार बचतपत्र खुला, १२.५ प्रतिशत ब्याज पाइने, धितो राखी ऋण पनि लिन सकिने

 जेठ १८, २०७९ बुधबार १६:३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बुधबारदेखि वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेको छ । 

५ वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्रका लागि आज अर्थात् जेठ १८  गतेदेखि असार ६ गतेसम्म आवेदन दिन सकिन्छ । रोजगारीका लागि देश बाहिर रहेका वा विदेशमा रोजगारी गरी फर्किएका तथा विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीहरूका लागि राष्ट्र बैंकले बचतपत्र खुला गरेको हो । 

घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने रकम बचतपत्रमा लगानी गर्न सकिन्छ । बचतपत्र किन्ने व्यक्तिले आफ्नो वा परिवारका सदस्यको नाममा पनि किन्न सक्नेछन् भने दुई वा दुईभन्दा बढी व्यक्तिले बचतपत्र किन्दा दुई नामको बीचमा र अथवा वा राखी पनि किन्न सकिनेछ ।

बचतपत्रमा लगानी गर्नेले १२.०५ प्रतिशत ब्याज पाउँछन् । यो ब्याज रकम अहिले बैंक तथा वित्तीय संस्थाले मुद्दतीमा दिनेभन्दा बढी हो । अहिले वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा बढीमा ११. ०३ प्रतिशतसम्म ब्याज दिन्छन् भने रेमिट्यान्सबाट प्राप्त रकमको मुद्दतीमा बढीमा १२.०३ प्रतिशतसम्म ब्याज दिन्छन् ।

बचतपत्र बाँडफाँट भएको रकम जम्मा गरेको मितिदेखि नै ब्याज आउन थाल्छ । बचतपत्रमा लगानी गर्नेले आफै वा इच्छाएको व्यक्तिमार्फत नजिकको बैंक शाखाबाट ब्याज रकम लिन सक्छन् । राष्ट्र बैकका अनुसार बचतपत्रमा लगानीकर्ताले पाउने ब्याज प्रत्येक ६ महिनामा पाउँछन् । 

बचतपत्र नेपाली रुपैयाँमा जारी हुन्छ ।  बचतपत्र स्टक र प्रमिसरी नोट दुवै हुन सक्छ । खरिदकर्ताले नै बचतपत्र किन्दा कुन प्रकारको किन्ने हो स्पष्ट खुलाई आवेदन दिन पर्छ । नखुलाउनेहरूलाई भने प्रमिसरी नोटको मात्र प्रमाणपत्र दिइने राष्ट्र बैंकले जनाएको छ । 

वैदेशिक रोजगार बचतपत्र धितो राखी नेपालमा रहेको बैंक तथा वित्तीय संस्थाबाट  ऋण पनि लिन सकिन्छ । बचतपत्र किन्ने आवेदन नेपाल राष्ट्र बैंकको वेबसाइटमा गई मोनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिन्छ भने फारम डाउनलोड गरी आवश्यक विवरण भरी आफूलाई पायक पर्ने बैंक शाखामा बुझाउन सकिन्छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया