साेलुमा ठगिँदै पर्यटक, ‘सल्लेरी–खरिखोला रिर्जभ भाडा ३५ हजार रुपैयाँसम्म’

 असोज २६, २०७९ बुधबार १३:४७:३८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट खरिखोला क्षेत्र जाने सार्वजनिक गाडीकाे भाडामा मनोमानी बढेको छ । सल्लेरीबाट खरिखोला जाने विदेशी पर्यटकको सङ्ख्या बढेसँगै सार्वजनिक गाडीले मनोमानीरूपमा भाडा लिने गरेको यात्रुले गुनासो गरेका छन् । 

खरिखोला क्षेत्र जाने गाडीकाे सङ्ख्या कम र यात्रुको चाप बढी हुँदा गाडीले पर्यटकलाई तोकिएको भन्दा बढी भाडा लिने गरेको पर्यटन व्यवसायी छिमी छिरि शेर्पाले गुनासो गर्नुभयो । यसअघि सल्लेरी–खरिखोला १६ हजार रुपैयाँमा रिजर्भ जाने गरेका जीपले अहिले ५० हजार रुपैयाँसम्म लिने गरेका यात्रुको गुनासो छ । भ्रमणमा आएका विदेशीलाई यातायात व्यवसायीले आफूखुसी भाडा लिँदा गलत सन्देश प्रवाह हुन सक्ने पर्यटन व्यवसायी शेर्पाको चिन्ता छ । यस क्षेत्रको सडक कच्ची हुँदा सल्लेरीबाट जीप मात्रै छुट्ने गरेको थियो । ती जीपले मात्रै यात्रुको चाप थेग्न नसक्दा हिजाे मङ्गलवारदेखि ठूला जीपले पनि पर्यटक बोक्न थालेका सवारी चालक प्रकाश घतानीले बताउनुभयो । साथै विदेशी यात्रुको चाप उच्च हुँदा नेपाली यात्रुले टिकट नपाउने समस्या पनि सिर्जना भएको छ । 

मनाेमानीरूपमा भाडा लिएकाे गुनासाेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमान्डमा खटिएको ट्राफिक प्रहरीसहितको टोलीले हिजाे बिहान अनुगमन गरेको थियाे । अनुगमनका क्रममा सल्लेरीबाट खरिखोलासम्म रिजर्भ भाडा ३५ हजार रुपैयाँसम्म लिएको पाइएको प्रहरी निरीक्षक माझीले बताउनुभयाे । गाडीकाे सङ्ख्या कम भएकाले समस्या भएको भन्दै त्यसकाे समाधानका लागि यातायात व्यवसायीसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

केही दिनयताकाे मौसम प्रतिकूलताका कारण मन्थली–लुक्ला हवाई उडान प्रभावित भइरहेको छ । जसका कारण सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकले काठमाण्डौबाट सल्लेरी हुँदै खरिखोलासम्म जीपको प्रयोग गर्ने गरेका छन् । खरिखोलाभन्दा माथिल्लो क्षेत्रमा गाडी नजाने भएकाले त्यहाँबाट पर्यटक पैदलयात्रामार्फत सगरमाथा क्षेत्र जाने गरेको बताइएको छ ।

सल्लेरी क्षेत्रका होटल विदेशी पर्यटकले भरिभराउ

अहिले सदरमुकाम सल्लेरी क्षेत्रका होटल तथा लज विदेशी पर्यटकले भरिभराउ बनेका छन् । स्थलमार्ग हुँदै जिल्ला भित्रिने पर्यटकको सङ्ख्या उच्च भएसँगै सल्लेरी र फाप्लु क्षेत्रका होटलमा विदेशी पर्यटकको चाप बढेको हो । होटलका कोठा सबै बुक हुँदा कतिपय पर्यटक समस्यमा परेका व्यवसायीले बताएका छन् । विगतमा धेरैजसाे समय खाली हुने गरेका होटल यतिखेर भरिँदा बस्न आएका पर्यटक फर्कानुपरेको एभरेस्ट होटल फाप्लुका सञ्चालक याङ्डी लामाले बताउनुभयो । पर्यटकको स्वागत सत्कारमा यतिखेर आफूहरूलाई भ्याइनभ्याइ भएको मुस्ताङ चौलागिरि होटल सल्लेरीका सञ्चालक नरबहादुर मगरले बताउनुभयो । सल्लेरी क्षेत्रमा मात्रै एकै पटक सयौँ विदेशी पर्यटकको आगमन हुँदा उनीहरूलाई बस्न र खानका लागि समस्या भएको होटल व्यवसायीले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया