तिहार नजिकिएसँगै सोलुमा तामाको डालीको व्यापार दोब्बरले बढ्यो

 कात्तिक १, २०७९ मंगलबार ११:३९:३७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – चेली र माइतीबीच सद्भावको चाड तिहार नजिकिएसँगै सोलुखुम्बुमा तामाका डालीको व्यापार दोब्बरले बढेको छ ।

तिहारमा उपहार दिन तामाबाट बनेको डाली खरिद गर्नेको संख्या बढेको व्यापारीहरुले बताएका छन् । तिहारमा भाइ टीकापछि माइतीले चेलीलाई उपहार स्वरुप तामाको डाली दिने चलन बढेसँगै व्यापारमा वृद्धि भएको सल्लेरीका सुब्बे विश्वकर्माले बताउनुभयो ।

जिल्ला सदरमुकामकाे नयाँ बजार, नेले बजार, पत्ताले बजार, नेचा बिहीवारे लगायतका साप्ताहिक हाटहरुमा डाली खरिद गर्नेहरु बढेको व्यापारीहरु बताउँछन् । तामाको डाली सोलुमै निर्माण हुने भएकाले पछिल्लो सयम यसको महत्व बढिरहेको सल्लेरीका व्यापारी हर्कजित घिमिरेको भनाइ छ।

गएका वर्षहरुमा डाली उपहार दिने चलन कम भएपनि केही वर्ष यता उपहारको रुपमा डाली दिने चलन बढ्दै गएको उहाँले बताउनुभयो ।

जिल्लामा नै विश्वकर्मा समुदायहरुले हातले नै तयार गर्ने तामाको डाली अहिले कर्मचारीहरुको समेत रोजाइ बन्न थाएको छ ।

जिल्लामा काम गर्ने कर्मचारीहरु तिहारमा घर जाँदा कोसेली तथा उपहारको रुपमा लैजान धमाधम खरिद गरिरहेका छन् ।

सल्लेरीका व्यापारी रमन बहादुर विश्वकर्माले भन्नुभयो, ‘हामी साप्ताहिक हाटहरु नयाँ बजार, नेले बजार, तिङ्ला रमिते, पत्तालेमा तामाको भाँडाहरु बेच्न लैजान्छौँ यी तामाका सामानहरु कि बिहेको सिजनमा बढी बिक्छ तर यतिखेर चैँ यो तिहारले गर्दा अरु समान भन्दा डाली नै धेरै बिकिरहेको छ, हामीले यहाँ बनाएका डालीहरु त काठमाण्डौदेखि तराई र पश्चिमसम्म पुग्छ, कर्मचारीहरुले किनेर लान्छन ।’ 

यहाँ निर्मित तामाको डाली पछिल्लो समय सोलुको चिनोको रुपमा परिचित छ । काठमाण्डौलगायतका ठाउँहरुमा पनि मेसिनको प्रयोग गरी अहिले डाली निर्माण गर्न थालिए पनि यहाँ हातले नै बुट्टाहरु बनाउने हुनाले किन्ने मान्छेको रोजाइ हातबाट बनाइएको सामाग्रीमा पर्ने गरेको व्यापारीहरु बताउँछन् ।  

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया