श्रम स्वीकृति लिँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् टोकन लिने समय र प्रक्रिया

 पुस १५, २०७९ शुक्रबार १३:४३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तत्काल श्रम स्वीकृति लिएर विदेश उड्न पर्नेहरूको सहजताका लागि वैदेशिक रोजगार कार्यालय ताहाचलले स्वीकृतिको टोकन व्यवस्थापनमा थप सहजीकरण गरेको छ ।

आजको आजै श्रम स्वीकृति चाहिनेका लागि प्रत्येक दिन बिहान ११ बजे र भोलिपल्ट श्रम स्वीकृति लिन पर्नेहरूका लागि प्रत्येक दिन दिउँसो साढे ३ बजे श्रम स्वीकृतिका लागि टोक खुल्ला गरिने गरिएको वैदेशिक रोजगार कार्यालय ताहाचलका सूचना अधिकारी वसन्त बहादुर बोहराले जानकारी दिनुभयो । यो व्यवस्था भएपछि तत्काल श्रम स्वीकृति लिन खोज्नेहरूले पनि श्रम स्वीकृति नपाउने समस्या हटेको उहाँले बताउनुभयो ।

‘कतिपयको आज या भोलिकै टिकट हुने र अन्तिम समयमा आएर श्रम स्वीकृति गर्न खोज्दा टोकन नै पाउने समस्या भएपछि हामीले अहिले टोकन व्यवस्थापन गरेका छौँ’ सूचना अधिकारी बोहराले भन्नुभयो ‘आज बेलुकै मेरो टिकट छ अब कसरी श्रम लिने भन्ने भएको छ भने उहाँले बिहान ११ बजे श्रमको लागि आवेदन दिन सक्नुहुन्छ भने भोलिपल्ट श्रम स्वीकृति लिँदा हुन्छ पर्सिको दिनको टिकट छ भने भोलिपल्टको टोकन चाहिँ दिउँसो साढे तीन बजे खुल्छ त्यही बेला आवेदन दिन सक्नुहुन्छ ।’

पछिल्लो समय सबै खाले श्रम स्वीकृति अनलाइनबाट नै लिन सकिन्छ । अनलाइनबाट श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार विभागले छुट्टै अनलाइन सिस्टमको विकास गरेको छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत श्रम स्वीकृतिका लागि आवेदन दिन सकिन्छ । 

नयाँ, व्यक्तिगत श्रम स्वीकृति होस् या वैदेशिक रोजगारीमा गइसकेकाले श्रम नवीकरण गर्दा होस् सबैभन्दा पहिला अनलाइनमार्फत सबै कागजात र प्रक्रियासहित आवेदन दिन पर्छ । कल्याणकारी कोष र बिमाको रकमसमेत तिरे पछि मात्रै अनलाइन आवेदन दिन मिल्छ ।

अनलाइनबाट आवेदन दिँदा नै उपलब्ध टोकनहरू  मिति अनुसार देखाउँछ । आफूलाई आवश्यक पर्ने मितिमा क्लिक गरेर आवेदन दिन सकिन्छ । तर विदेश उड्ने अन्तिम दिन श्रम स्वीकृति लिन खोज्दा भने पहिले नै टोकन प्याक हुने र नपाउने समस्या थियो । यही समस्यालाई सहजीकरण गर्न आजको आजै लिन पर्नेहरूका लागि दैनिक एक सय र भोलि पल्ट लिनेहरूका लागि २८० टोकन छुट्टाइएको सूचना अधिकारी बोहराले बताउनुभयो । 

तर अन्तिम समयमा श्रम स्वीकृति लिन खोज्दा समस्या हुन सक्छ । कहिलेकाहीँ कागजात नमिल्न या नपुग्न पनि सक्छ । त्यसैले बिदामा नेपाल आउनासाथ श्रम स्वीकृति भने गरिहाल्न उहाँले अनुरोध गर्नुभयो । 

‘श्रम स्वीकृति जतिसक्दो चाँडो गरिहाल्नुहोस्, घरमै बसेर पनि आवेदन दिन सकिन्छ’ सूचना अधिकारी बोहराले अनुरोध गर्दै भन्नुभयो ‘विदेश जाने बेलामा मात्र लिन्छु भनेर ढुक्कले नबस्नुहोस् ।’

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Majarul

    Dec. 30, 2022, 3:47 p.m.

    सरकार केही ठोस कदम चाल्दैन , बिदेशमा कतिजना छन् ??

  •  0 Reply

तपाईको प्रतिक्रिया