जलविद्युत् आयोजनाले पानी सुकाएपछि सोलुखोला क्रसर उद्योगको कब्जामा

 माघ १८, २०७९ बुधबार ८:७:५० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – पानी सुकाएर बगरमा परिणत भएसँगै अहिले सोलुखोला क्रसरहरुको नदीजन्य पदार्थ उत्खनन गर्ने थलो बनेको छ । खोलामा पानी नभएपछि क्रसर उद्योगहरुले गाडी नै खोलामा लगेर ढुंगा तथा बालुवा उत्खनन गर्न थालेका छन् । क्रसर उद्योगहरुले सोलुखोलाको बीचबाट धमाधम ढुंगा निकालिरहेका छन् । 

स्थानीयहरु खाेलाबाट ढुंगा निकाल्ने काममा लागेका छन् । रोजगारी दिने भन्दै क्रसर उद्योगीहरुले आफूहरुलाई खोलाभित्रको ढुंगा निकाल्न लगाएको स्थानीय रमन तामाङ बताउनुहुन्छ । जल विद्युत् आयोजनाले सामान्य मापदण्ड पालनामा ख्याल नगर्नु र खोलाको ढुंगा गिटीहरु समेत क्रसरले धमाधम उत्खनन् गरिरहँदासमेत स्थानीय सरकारदेखि प्रशासन समेत मौन छ । यसरी खाेलाबाट ढुंगा निकाले नजिकका बस्तीहरुमा समेत असर पर्न सक्ने स्थानीयको चिन्ता छ । वातारणदेखि प्राणीजगतको जीवनचक्रमा समेत खलल पुग्न सक्ने वातावरण विज्ञ राजन थापा चिन्ता व्यक्त गर्नुहुन्छ ।

जंगली जनावर तथा जलप्राणीहरुको अस्तित्त्व जोगाउन समेत खोलामा कम्तीमा १० प्रतिशत पानी छोड्नै पर्ने थापाको भनाइ छ । हिमाली जिल्ला सोलुखुम्बुमा निर्माण गरिएको जलविद्युत् आयोजनाले न्यूनतम मापदण्डको ख्याल नगर्दा सोलुखोला बगरमा परिणत भएको छ । जिल्लामा निर्माण सम्पन्न भएर विद्युत् उत्पादन सुरु गरेको ९ दशमलव ५ मेगावाटको मध्य-सोलुखोला जलविद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा अहिले सोलुखोला नै सुख्खा बगरमा परिणत भएको हो ।

सधैँ खोलामा बगिरहने पानी आयोजनाले सबै लगेपछि अहिले सोलुदुधकुण्ड नगरपालिका ३ र ४ क्षेत्रको खोला नै सुख्खा बनेको छ । विद्युत् विकास विभागको नियम अनुसार आयोजनाहरु निर्माण गर्दा कम्तीमा १० प्रतिशत पानी खोलामा छोड्नुपर्ने मापदण्ड भए पनि यहाँका आयोजना त्यसलाई पालना गर्नमा चुकेका छन् । जसका कारण सोलुखोलाको जलप्राणीहरुको अस्तित्त्व नै गम्भीर संकटमा परेको छ भने पर्यवरणमा समेत असर गरेको स्थानीय दावा तामाङको गुनासो छ ।

जिल्लामा तल्लो सोलुखोला, माथिल्लो सोलुखोला, बेनी, लिखुखोला लगायत आधा दर्जनभन्दा बढी विद्युत् आयोजनाहरु निर्माणाधीन अवस्थामा छन् । अधिकांश आयोजनाहरुले खोलामा मापदण्ड अनुसारको पानी छोड्ने सवालमा आनाकानी गरिरहेको स्थानीय बताउँछन् । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया