मनाङ मर्स्याङ्दीले जित्याे मकवानपुर गाेल्ड कपकाे उपाधि

 फागुन १०, २०७९ बुधबार १९:३९:८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मनाङ मर्स्याङ्दी क्लबले पाँचौँ स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौँडा उपमहानगरपालिका–४ काे पिप्ले क्याम्प रङ्गशालामा बुधवार भएको फाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गाेलले हराउँदै मनाङ विजेता बनेको हो ।

मनाङलाई उपाधि जिताउन रोशन राना मगरले गोल गरे । निकै प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा खेलको ७८ औँ मिनेटमा मनाङका रोशन राना मगरले गरेकाे गाेल नै निर्णायक बन्यो ।

उपाधिसँगै मनाङले १५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता शेर्पाले १० लाख रुपैयाँ पाएको छ । प्रतियोगितामा मनाङका कप्तान तथा गोलकिपर दीप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले हेटौँडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको मोटरसाइकल प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरकिपर मनाङका दीप कार्की, डिफेन्डर हिमालयन शेर्पाका अमित श्रेष्ठ, मिडफिल्डर मनाङका कमल थापा, फरवार्ड शेर्पाका योउमी र प्रशिक्षक मनाङका किरन श्रेष्ठ चुनिए । उनीहरूले जनही २५–२५ हजार रुपैयाँ हात पारे ।

प्रतियोगिताको विजेता बनेको मनाङलाई फाइनलमा पुर्‍याउनका लागि दीप कार्कीले महत्त्वपूर्ण योगदान गरेका थिए । यसअघि सेमिफाइनल खेलमा पेनाल्टी शुटआउटमा दीप जितका नायक बनेका थिए । उनले दुई वटा पेनाल्टी प्रहार बचाएका थिए ।

जिल्ला फुटबल सङ्घ मकवानपुरको आयोजनामा माघ २८ गतेदेखि सुरु भएको प्रतियोगितामा एक विदेशी टोलीसहित १२ टोलीको सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया