प्रलोभनमा परेर थाइल्याण्ड र म्यानमार नजान परराष्ट्र मन्त्रालयको आग्रह

 साउन १३, २०८० शनिबार ८:१४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – परराष्ट्र मन्त्रालयले झुटा आश्वासन र प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि थाइल्याण्ड र म्यानमार नजान आग्रह गरेको छ ।  मन्त्रालयले विज्ञप्ति निकालेर पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी र सुविधाको प्रलोभन देखाएर नेपालीलाई म्यानमारको कायिन प्रान्तको म्यावडी लगेर बन्धक बनाई अवैध काम गर्न बाध्य बनाइएको भन्दै सचेत रहन आग्रह गरेको हो ।

मन्त्रालयले वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा लगेर अलपत्र पार्ने एवं नेपाल सरकारको प्रचलित कानूनअनुरूप निषेध गरिएका कार्यमा संलग्न गराउने कार्य दण्डनीय भएकाले यस्ता गैरकानूनी काम नगर्न र यसतर्फ सचेत रहन सबैमा अनुरोध समेत गरेको छ । यस्तै, विभिन्न प्रलोभनमा परी जाने नेपालीलाई गैरकानूनी रूपमा थाइल्याण्डबाट स्थलमार्ग हुँदै म्यानमार लैजान र रोजगारदाताले नेपाली राहदानीसमेत जफत गरी दैनिक १२ घण्टासम्म अनलाइन ठगीलगायत गैरकानूनी काममा लगाउने गरेको भेटिएको पनि मन्त्रालयले जनाएको छ ।

विदेशमा रोजगारी गर्न जाँदा पर्यटक/भिजिट भिसामा नगई श्रम स्वीकृति लिएर, सम्बन्धित कार्यालय तथा विदेशको नेपाली नियोगसँग सम्पर्क गरी रोजगारदाता कम्पनी र रोजगारीको बारेमा बुझ्न पनि अनुरोध गरेको छ । मन्त्रालयले नक्कली रोजगारीका विज्ञापन प्रायः सामाजिक सञ्जालमा आउने गरेका र यस्ता झुटा आश्वासनमा नपर्न समेत सचेत गराएको छ ।

म्यानमारमा पुगेर बन्धक बनाइएका तथा अलपत्र परेका नेपालीले आफ्नो उद्धारका लागि आफन्तजन र नेपाली राजदूतावास बैँकक तथा याङ्गुनमा सम्पर्क गर्ने गरेको पाइएको छ । नेपाली दूतावासले स्थानीय सरकारसँग समन्वय गरी केही सङ्ख्यामा नेपालीको उद्धार गरिसकेको र थप नेपालीको उद्धार गर्ने प्रयास भइरहेको बताएको छ । म्यानमार द्वन्द्वग्रस्त क्षेत्र भएकाले उद्धारमा चुनौती हुने गरेको मन्त्रालयले जनाएको छ । 

 


अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया