वैदेशिक रोजगार अभिमुखीकरण तालिम भएन प्रभावकारी, तालिम प्रदायकले गरेनन् मापदण्ड पूरा

 साउन २१, २०८० आइतबार ११:११:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सञ्चालित अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको पाइएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार तालिम प्रदायक कतिपय सङ्घसंस्थाले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ अनुसार मापदण्ड पूरा नगरी तालिम सञ्चालन गरेको पाइएको जनाएको हो ।  

यसका साथै यसअघि पनि  विभागले गरेको अनुगमनमा कतिपय तालिम प्रदायकहरूले कक्षा सञ्चालन नै नगर्ने र श्रमिकको औँठाछाप समेत गलत लगाउने गरेको पाइएको थियो । 

वैदेशिक रोजगारीमा जानेहरूलाई गन्तव्य देशको बारेमा जानकारी दिने यो तालिम नै प्रभावकारी रूपमा सञ्चालन नहुँदा त्यसको मार श्रमिकलाई परिरहेको छ । सामान्य नीति नियमका बारेमा जानकारी नपाउँदा वैदेशिक रोजगारीमा गएका कतिपय श्रमिकहरूले जेल सजायसमेत भोगिरहेका छन् ।

यो कक्षामा वैदेशिक रोजगारीमा जानेलाई आफू जाने देश, त्यहाँ गर्नु पर्ने काम, बोलिने भाषा, श्रम कानुन, ट्राफिक नियमजस्ता विभिन्न विषयमा जानकारी दिइन्छ । तर पछिल्लो समय श्रमिकले यो कक्षा लिए नलिएको जाँच गर्ने श्रम डेस्क विमानस्थलबाट हटेदेखि कक्षाको प्रभावकारिता पनि कम हुँदै गएको छ । विमानस्थलमा श्रम डेस्क हुँदासम्म श्रमिक आफैँले कक्षा लिए नलिएको जाँच हुन्थ्यो ।

मापदण्ड पूरा नगरी कक्षा सञ्चालन तालिम प्रदायक संस्थालाई विभागले जतिसक्दो छिटो कार्यविधिले तोकेको मापदण्ड पूरा गर्न निर्देशन दिएको छ ।

यसका साथै संस्थाहरूले अहिले तालिम सञ्चालन गरिरहेको ठाउँ र कर्मचारीहरूको विवरण पनि सात दिनभित्र विभागको अभिमुखीकरण तथा अनुगमन शाखामा बुझाएर अद्यावधिक गराउन सूचना जारी गरेको छ । निर्देशन पालना नगर्ने संस्थालाई कारबाही हुने विभागले जनाएको छ 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया