विदेशबाट आउनेका लागि त्रिभुवन विमानस्थलमा स्वघोषणा कक्ष

 साउन २८, २०८० आइतबार १७:१४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ । विदेशबाट फर्किएका यात्रुले मापदण्डभन्दा बढी सुन, गरगहना, विदेशी मुद्रा, टेलिभिजन तथा मोबाइल फोन ल्याउने र स्वघोषणा नगरि बाहिरिँदा भन्सार छलीअनुसार कारबाहीको भागिदार हुने गरेका थिए ।

स्वघोषणा कक्ष सञ्चालनपछि यात्रुले आफूसँग भएको मालवस्तुको स्वयम् घोषणा गर्न पाउने तथा बढी भएको सामानको भन्सार महसुल बुझाई सजिलै लैजान पाउने व्यवस्था गरिएको भन्सार विभागले जानकारी दिएको छ ।

विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार एक्स–रे मेशिनमा पुग्नु अघि नै स्वयम् घोषणाको सुविधा पाउने व्यवस्था गरिएको हो । विदेशबाट नेपाल फर्कने महिला यात्रुले अधिकतम ५० ग्रामसम्म र पुरुष यात्रुले अधिकतम २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । साथै एक जना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामबाहेक थप दुई सय ग्रामसम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था छ । विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेका अनुसार गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता प्राप्त हुँदैन ।

मोबाइलको हकमा भने यात्रु आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन । श्रम स्वीकृति लिएर लगातार छ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरि ल्याउन पाउने कानुनी व्यवस्था रहेको प्रमुख पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यस्तो थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्दछ ।

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था छ । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउने व्यवस्था छ ।

अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमअनुसारको महसुल भन्सारमा तिर्नुपर्ने व्यवस्था छ । यसैगरी पाँच हजार अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ । रकम घोषणाको भने कुनै महसुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • ईश्वर

    Aug. 17, 2023, 9:05 a.m.

    वैदेशिक रोजगारीमा आउन जान सहज बनाउन भन्दानी यो लुट्ने धन्दा मात्र बढी भो हाम्रो एयरपोर्ट मा देशमा कस्ता कस्ता तस्करी भष्टाचार नदेख्ने विदेशमा पसिना बगाएर ल्याएको ५०ग्राम सुनमा आँखा लगाउने ।

  •  0 Reply
  • गणेश बस्नेत

    Aug. 13, 2023, 9:49 p.m.

    भन्सार बिभागले जो यात्री ले २/३ वर्ष अघि किनेर नेपाल आउद बिदेश जादा लगाएर आउने जाने गरेको सुनको गहना जो सग बिल सहित छ भने त्यस्लाइ छुट्टै व्याबस्था गर्ने नियम गराउनु पर्यो । ४ वर्ष देखि मैले प्रयोग गर्दै आएको सिक्री हरेक वर्ष कर तिरेको तिरै गर्दा मेरि सिक्री को मूल्य र कर बराबर हुने भयो । सार्है अन्याय भयो हामी माथी ।

  •  0 Reply

तपाईको प्रतिक्रिया