चीनसँगको नाका बन्द हुँदा गोरखाको लार्के भन्सारको राजस्व आम्दानी शून्य

 साउन ३०, २०८० मंगलबार १६:११:४१ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखा र चीनबीचको दुई वटा सीमा नाका लामो समयदेखि बन्द हुँदा लार्के भन्सार कार्यालय ठप्प भएको छ । देशभरका भन्सार कार्यालयहरूले वर्षमा करोडौँदेखि अर्बाैँ रुपैयाँसम्म राजस्व सङ्कलन गरे पनि मुख्य भन्सारकै रूपमा रहेको लार्केले गएकाे आर्थिक वर्ष एक पैसा पनि राजस्व सङ्कलन गर्न नसकेको हो ।

कोभिड जोखिम बढेसँगै चीनतर्फको उत्तरी दुई वटा नाका बन्द भएका हुन् । चुमनुब्री गाउँपालिका १ को रुइला र वडा नम्बर ७ को ङुइला नाका बन्द हुँदा त्यसको प्रभाव भन्सारको राजस्व सङ्कलनमा पनि परेको हो । जिल्ला सदरमुकामबाट चार दिनको पैदलयात्रापछि पुगिने चुमनुब्री गाउँपालिकाको जगत भन्ने ठाउँमा भन्सार कार्यालय रहेको छ । त्यहाँभन्दा माथि चुम र नुब्री दुई वटा उपत्यका रहेका छन् । दुवै क्षेत्रको उत्तरवर्ती क्षेत्रबाट चीन प्रवेशको नाका छ । चीनले दुई वटै नाका कोभिडकालदेखि नै बन्द गरेको हो । नाका बन्द हुँदा भन्सारको कारोबार पनि ठप्प भएको भन्सार कार्यालयका प्रमुख जीवन घिमिरेले बताउनुभयो ।

आम्दानी थोरै भए पनि कर्मचारीकाे तलब, कार्यालयको भाडालगायत शीर्षकमा खर्च भने वार्षिक १० लाख रुपैयाँभन्दा बढी रहेको छ । आयात निर्यातको गतिविधि ठप्प भएपछि ११ वर्षयता भन्सार कार्यालय लगभग निष्क्रिय रहेको घिमिरेको भनाइ छ । चुमनुब्री–३ को जगतमा रहेको भन्सार कार्यालयमा चार जना कर्मचारीको दरबन्दी रहेको छ । भन्सार विभागका अनुसार लार्के भन्सारमा एक नायब सुब्बा, एक खरिदार र दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । यसअघि सात जना कर्मचारीको दरबन्दी रहे पनि लामो समयदेखि निष्क्रिय रहेको भन्सारको कर्मचारी दरबन्दी सरकारले कटौती गरेको हो । अहिले कायम गरिएको दरबन्दीका कर्मचारी पनि कार्यालयमा बस्ने गरेका छैनन् । वन लसुनलगायतका जडीबुटी ठूलो परिमाणमा चीनतर्फ निर्यात हुने गरेको बेला पनि वार्षिक पाँच/छ सय रुपैयाँभन्दा बढी राजस्व सङ्कलन नभएको देखिएको फागुनदेखि लार्के भन्सारको प्रमुखका रूपमा रहनुभएका नायब सुब्बा जीवन घिमिरेले बताउनुभयो । 

भन्सार विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यविक्रम खड्काले लार्के भन्सारलाई थप व्यवस्थित बनाउने योजना रहेको बताउनुभयो । चीनतर्फको नाका लामो समयदेखि बन्द रहेको र त्यसका कारण आयात निर्यात ठप्प भएपछिको असर भन्सारको काममा पनि परेको उहाँको भनाइ छ । त्यहाँ हुन सक्ने राजस्व सङ्कलनको क्षेत्रबारे अध्ययन गरेर कर्मचारी व्यवस्थापनलगायतको काम गर्न सकिने भन्दै उहाँले छिमेकी देश चीनसँग पनि छलफल गरेर नाका खुलाउनेतर्फ जोड दिनुपर्ने बताउनुभयो ।

‘पुरातन हिसाबले सञ्चालन गरेका नाकाहरू चिनियाँ पक्षबाट सहज रूपमा खुलेको छैन, सीमा क्षेत्रको ३० किलोमिटरभित्रका मानिसलाई निश्चित अवधिको पास दिएर आवतजावत गर्न दिने कुरामा पनि चिनियाँ पक्षको नाइँ–नास्ती छैन’, निर्देशक खड्काले भन्नुभयो, ‘मान्छेहरूको आवतजावत गराउने, रेकर्ड राखेर पास उपलब्ध गराउने विषयमा त्यति समस्या छैन तर वैधानिक बाहेकका कारोबार नहोस् भन्ने चीनको चाहना छ ।’

केही समयअघि उद्योग मन्त्रालयको टोलीले ल्हासामा रहेका चिनियाँ अधिकारीहरूसँग स्थलगत भेटघाट गरेको थियो । त्यस भेटमा सहभागी हुनुभएका भन्सार विभागका निर्देशक खड्काले चिनियाँ पक्षले नाका सञ्चालनअघिको पूर्वाधार र संरचना निर्माणको सुनिश्चितता खोजेको बताउनुभयो । ‘व्यापारिक प्रयोजनको आवतजावतका लागि उनीहरूको भनाइ के छ भने पूर्वाधार पुर्‍याऊ, बाटो नभएको ठाउँमा बाटो बनाऊ, पुल नभएको ठाउँमा पुल बनाऊ, सीमामा राख्नुपर्ने कार्यालयहरू राख, चोरी निकासीलगायत दुई देशबीचको सम्बन्धमा खलल पार्ने क्रियाकलाप नहुने अवस्था सिर्जना गर भन्ने छ’, उहाँले भन्नुभयो । 

लार्के भन्सार भएको क्षेत्रमा सरकारले सशस्त्र प्रहरीको सीमा सुरक्षा बल खटाउने तयारी गरेको छ । चुमनुब्री–१ को साम्दोमा सशस्त्र प्रहरीको 'बोर्ड आउट पोस्ट' (बीओपी) राख्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । यसो भएमा त्यस क्षेत्रको रुइला नाका खोल्ने विषयलाई चिनियाँ पक्षले सहज रूपमा लिन सक्ने विश्वास गरिएको छ । नाका खुला भएर व्यापारिक आवतजावत पुनः सञ्चालन भएमा पूर्वाधार र कर्मचारी विस्तार गरेर लार्के भन्सारलाई गतिशील बनाउन सरकार तयार रहेको निर्देशक खड्काको भनाइ छ ।

कोभिड जोखिम कम भएलगत्तै चुमनुब्री–१ अन्तर्गतको नेपाल–चीनबीचको ३५ नम्बर सीमा स्तम्भमा रहेकाे रुइला र चुमनुब्री–७ छेकम्पारको ङुइला नाका खुलाउन स्थानीयले माग राख्दै आएका छन् । यस्तै नेपाली सेनाले पृथ्वी राजमार्गको बेनीघाटबाट गोरखाको उत्तरी क्षेत्र हुँदै चीन जोड्ने गरी सडक बनाइरहेको छ । सडक सञ्जाल विस्तार भएपछि भन्सारको काम पनि थपिने स्थानीयवासीकाे विश्वास छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया