मुख्यमन्त्री भट्टलाई भेटेर निर्मलाकी आमाले भनिन : हामीलाई न्याय चाहियो

 कात्तिक १४, २०७५ बुधबार १७:६:५१ | निर्मला खडायत
unn.prixa.net

निर्मलाकाे हत्यारालार्इ कारबाही गर्न माग गर्दै धनगढीमा गरिएकाे प्रदर्शन

कैलाली – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रदेश सरकारले सुरुदेखि नै पहल गरिरहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनुभएको छ ।

बुधबार कञ्चनपुरबाट मुख्यमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाउन आएका अधिकारकर्मीलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले प्रत्यक्ष रुपमा प्रदेश सरकार निष्क्रिय जस्तो देखिएको भए पनि हत्यारा पत्ता लगाउन प्रदेश सरकारले केन्द्र सरकारलाई पहिलेदेखि नै दवाव दिँदै आइरहेको बताउनुभयो ।

अहिलेसम्म हत्यारा पत्ता नलाग्दा प्रदेश सरकार समेत दुखित बनेको भन्दै उहाँले ढिलो भए पनि दोषिलाई सजाय दिलाएरै छोड्ने बताउनुभयो । प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने सबै काम प्रदेश सरकारले गरिरहेको उहाँको जिकिर थियो ।

‘कुनै पनि हालतमा अपराधी उम्किन हुँदैन’, मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘पहुँचका आधारमा अपराधी बाँच्नु हुँदैन, कानुनी दायराबाट छुट्नु हुँदैन भन्ने कुरामा प्रदेश सरकार प्रष्ट छ ।’

अहिले निर्मला पन्त हत्या घटनाको केन्द्र सरकारले प्रत्यक्ष रुपमा अनुसन्धान अघि बढाएकोले घटनाको निष्पक्ष, स्वतन्त्र रुपमा जाँच हुनुपर्नेमा प्रदेश सरकारको जोड रहेको उहाँले बताउनुभयो । निर्मलालाई न्याय दिलाउन कञ्चनपुरमा गरिएको आन्दोलनमा घाइते भएकाहरुको पनि समस्या बुझिरहेको र सोही अनुसार प्रदेश सरकारले काम गरिरहेको उहाँले बताउनुभयो ।

ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री कार्यालयमा पुगेकी नागरिक संघर्ष समिति सचिव मिना भण्डारीले देशव्यापी रुपमा नागरिक र मिडिया निर्मलाको न्यायका लागि लागिरहेका बेला सरकार भने खासै गम्भीर नबनेको आरोप लगाउनुभयो । उहाँले दोषी पत्ता लगाउन आम नागरिक सदैव सरकारसँग रहेको भए पनि सरकारले बारम्बार निर्दोष व्यक्तिलाई फसाएर नागरिकको आँखामा छारो हाल्ने काम गरिरहको बताउनुभयो ।

घटना घटेको ९८ दिन बितिसक्दा पनि सरकारले वास्तविक  अपराधीलाई लुकाउने प्रयास नै गरिरहेको उहाँको आरोप थियो । ‘वास्तविक दोषिलाई कारबाही नहुँदासम्म हाम्रो आन्दोलन जारी रहनेछ, मृतक निर्मला पन्तकी आमा लक्ष्मी पन्तले भन्नुभयो, ‘हामीलाई न्याय चाहियो ।’

मृतक निर्मलाका बुवा यज्ञराज पन्तले भन्नुभयो, ‘हामीहरुले सरकारी कर्मचारीको बर्खास्त मागेको होइन, छोरीको हत्यारालाई कानुनी कारबाहीमा ल्याउनुपर्यो । 
बुधबार धनगढीमा निर्मलाका परिवार, अधिकारकर्मी लगायतले प्रदर्शन गरेका थियो । बलत्कार भएको तीन महना बितिसक्दा समेत सरकारले अपराधी सार्वजनिक नगरेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

मृतक निर्मलाको परिवारलाई न्याय दिनुपर्ने माग राख्दै धनगढीको चौराहाबाट प्रदर्शन सुरु गरेको टोलीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएको थियो । उनीहरुले निर्मलाका हत्यारालाई कानुनी कठघरामा उभ्याउन माग गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका छन् ।

उनीहरुले ज्ञापन पत्र बुझाउनु पूर्व मुख्यमन्त्री कार्यालय अगाडि निर्मलाका बुवा यज्ञराज पन्त, आमा लक्ष्मी पन्त, दिदी मनिसा पन्त र अधिकारकर्मीले ‘निर्मलालाई न्याय दे, असक्षम गृहमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया