सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगार ठगी बढेपछि विभागले बढायो निगरानी

 भदौ ६, २०८० बुधबार १७:३७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगार ठगी बढेपछि विभागले निगरानी बढाएको छ ।

सामाजिक सञ्जाल टिकटक, फेसबुक लगायतका माध्यममार्फत अनुमति बिनै ठग्ने उद्देश्यले गैरकानुनी रूपमा वैदेशिक रोजगारीको विज्ञापन गर्ने क्रम बढेपछि यस्ता संस्था र व्यक्तिहरूलाई कारबाहीसमेत गरेको विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिनुभयो । 

विभागले गएको हप्ता अनुमतिबिना सामाजिक सञ्जालमार्फत विदेश पठाइदिने विज्ञापन गर्दै राहदानी सङ्कलन गर्ने दुई म्यानपावरलाई कारबाही समेत गरेको छ ।

स्वीकृति बिना नै सामाजिक सञ्जालको प्रयोग गरी वैदेशिक रोजगारीको विज्ञापन गर्ने क्यापिटल रिक्रुटमेन्ट सर्भिस प्रालि र इगल म्यानपावर कन्सलट्यान्ट प्रालिलाई विभागले दुई दुई लाख रुपैयाँ जरिबाना गराएको हो ।

यी म्यानपावरले विभिन्न सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीमा कामको अवसर भएको विज्ञापन गरेर राहदानीसमेत सङ्कलन गरेका थिए । तर यसरी वैदेशिक रोजगारीको विज्ञापन गर्न विभागसँग भने स्वीकृति लिएका थिएनन् । 

यस्तै वैदेशिक रोजगारीसँग सम्बन्धित विज्ञापन सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायतमार्फत प्रकाशन गरी नागरिकमा भ्रम सृजना गर्ने सुयान एजुकेशन प्रालि ललितपुर र एलाइट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टर ललितपुरको पनि विभागले स्थलगत अनुगमन गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सूचना अधिकारी उप्रेती भन्नुहुन्छ ‘अहिले जति पनि वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरू हुनुहुन्छ उहाँहरूलाई  प्रलोभनमा पार्ने माध्यम भनेकै सामाजिक सञ्जाल भएको छ । यसका लागि सबैभन्दा धेरै टिकटकको प्रयोग व्यापक रूपमा भइरहेको छ ।’

उहाँका अनुसार सामाजिक सञ्जालमार्फत भइरहेको ठगी रोक्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिवस्तरीय छुट्टै कमिटीसमेत बनाएको छ । यो कमिटीले पछिल्लो समय सामाजिक सञ्जालमार्फत बढेको ठगी र यसको नियन्त्रणका लागि सरकारले अपनाउन पर्ने उपायहरूसमेत सुझाउने छ ।

‘यो कमिटीले औँल्याएका उपाय अनुसार विभागले पक्कै पनि थप कदमहरू चाल्ने नै छ’ निर्देशक तथा सूचना अधिकारी उप्रेतीले भन्नुभयो ‘अहिलेलाई विभाले अनुगमनलाई तीव्र बनाएको छ, हाम्रो यो अभियानमा वैदेशिक रोजगारीमा जान चाहने तपाईँहरूको सहयोग आवश्यक छ, जबसम्म भ्रमपूर्ण विज्ञापनलाई वैदेशिक रोजगारीमा जानुहुने तपाईँहरूले सहजै विश्वास गर्नुहुन्छ तबसम्म ठगी झन् बढ्न सक्छ ।’

सामाजिक सञ्जाल टिकटकमार्फत गैरकानुनी रूपमा आउने वैदेशिक रोजगारीको विज्ञापन नियन्त्रणका लागि विभाग आफैले पनि आधिकारिक टिकटक अकाउन्ट नै खोलेर अनुगमन गर्न थालेको छ । कोही सकैले विज्ञापन गरेका पाइएमा त्यसलाई त्यही रिपोट गर्नेदेखि त्यस्ता संस्था र व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने विभागले जनाएको छ ।

विदेशमा पाइने कुनै पनि काममा व्यक्तिहरूले पठाउने कानुनी प्रावधान छैन ।

वैदेशिक रोजगारीमा श्रमिक पठाउन विभागसँग अनुमति लिन पर्छ । यस्ता अनुमति लिएका म्यानपावर कम्पनीहरूले फेरि यति सङ्ख्यामा यो देशमा कामदार पठाउँदै छु भनेर विज्ञापन गर्नुअघि नै विभागसँग अनुमति लिन पर्छ ।

तर पछिल्लो समय विभागसँग अनुमति नलिई सामाजिक सञ्जालको प्रयोग गर्ने र झुटा कामको प्रलोभन देखाएर ठग्ने क्रम व्यापक रूपमा बढेको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया