स्कुले जीवनमा फर्किए बुहारीहरू

 भदौ ११, २०८० सोमबार १५:५१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

स्कुल भर्ना भएका बुहारीहरू बायाबाट क्रमशः शर्मिला राई, लक्ष्मी पौडेल, शान्तिकला राई, पुष्पा विक र निरा विक ।

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीकी ३१ वर्षीया पुष्पा विकको विवाह भएसँगै पढाइ रोकियो । राष्ट्रिय मावि बासपानीबाट २०६७ सालमा एसएलसी उत्तीर्ण गरेकी पुष्पाले २०६८ मा गाउँमै विवाह गर्नुभएको थियो । दुई बच्चालाई हुर्काएपछि पुष्पाले पुनः स्कुले जीवनलाई निरन्तरता दिनुभएको छ ।

गाउँपालिकाले शुरु गरेको बुहारी शिक्षा कार्यक्रम अन्तर्गत पुष्पा पुथ्वी मावि बाक्सिलामा कक्षा ११ मा भर्ना हुनुभएको छ । उहाँका छोरी रोजनी राष्ट्रिय माविमा कक्षा ५ मा र छोरा नेल्सन कक्षा ४ मा अध्ययनरत छन् । पुष्पाका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबियामा हुनुहुन्छ । ‘बीचैमा पढाइ छाडियो । ढिलै भए पनि पढौँ भन्ने हो’, उहाँले भन्नुभयो, ‘अहिले पढ्नलाई गाउँपालिकाले सुविधा पनि दिएको छ ।’

यस्तै केपिलासगढी–४ बाक्सिलाकी ३२ वर्षीया लक्ष्मी पौडेलले कक्षा १२ उत्तीर्ण नहुँदै पढाइ छुटेको थियो । २०६३ सालमा विवाह गरे पनि लक्ष्मीले पढाइलाई निरन्तरता दिँदै २०६५ सालमा एसएलसी पास गर्नुभएको थियो । तर इनरुवा बसाइँ झरेपछि र बच्चा जन्मिएपछि कक्षा १२ को एक विषय ‘ब्याक’ लागेको थियो । उनै लक्ष्मी बुहारी शिक्षा कार्यक्रम अन्तरगत पृथ्वी माविमा कक्षा ११ मा भर्ना हुनुभएको छ । 

‘पास भएँ भन्ने लागेको थियो । पछि बुझ्दा ब्याक रहेछ’, लक्ष्मीले भन्नुभयो, ‘पढ्ने रहर पूरा भएको थिएन । हातमा हतियार बनाउँ भनेर पुनः पढ्न थालेकी हुँ ।’ अहिले बाक्सिलामै बस्दै आएकी लक्ष्मी छोराहरू लजित र लावनलाई स्कुल पठाएर आफू पढ्न जाने गर्नुभएको छ । लजित कक्षा ६ र लावन युकेजीमा सनसाइन बोर्डिङ स्कुलमा पढ्छन् । 

बासपानीकै २५ वर्षीया शान्तिकला राई पृथ्बी माविमा कक्षा ११ मा भर्ना हुनुभएको छ । २०७३ सालमा विवाह गर्नुभएकी शान्तिकलाका पाँच वर्षका छोरा गाउँकै कालिका माविमा कक्षा १ मा पढ्छन् । उहाँले काखमा सात महिनाको छोरा हुर्काइरहेकी छन् । शान्तिकलाले एसएलसी गरेकै साल विवाह गर्नुभएको थियो । 

चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमअनुसार केपिलासगढीले बुहारी शिक्षा कार्यक्रम शुरु गरेपछि सात जना बुहारीले पुनः विद्यार्थी जीवन शुरु गरेका छन् । गाउँपालिकाका अनुसार २०६५ सालमा सिम्ले मावि जलेश्वरीबाट कक्षा आठ उत्तीर्ण गर्नुभएकी निरा विक र सिद्ध मावि बासपानीबाट २०७९ सालमा कक्षा आठ उत्तीर्ण गर्नुभएकी सर्मिला राई पृथ्वी माविमा कक्षा ९ मा भर्ना हुनुभएकाे छ । यस्तै २०७८ सालमा विवाह गर्नुभएकी पूजा राई र दीपा खड्का राष्ट्रिय मावि बासपानीमा भर्ना हुनुभएको शिक्षा अधिकृत प्रमुख सुरेन्द्र खनालले बताउनुभयाे ।

पढ्न मन हुँदाहुँदै विवाह गरेका बुहारीहरूलाई लक्षित गर्दै गाउँपालिकाले चालु आर्थिक वर्षदेखि बुहारीका लागि शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । सात वडा रहेको गाउँपालिकाले बुहारीहरूलाई कक्षा १२ सम्म निःशुल्क पढाउने नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । घरमा ‘आमा शिक्षित भए परिवार शिक्षित हुन्छ’ भन्ने भनाइअनुसार बुहारीलाई शिक्षित बनाउने, क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने र आत्मनिर्भर बन्न प्रेरित गर्ने योजना अन्तर्गत बुहारी शिक्षा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष समिर राई बताउनुहुन्छ । पढ्ने बुहारीहरूलाई कक्षा ९ देखि कक्षा १२ सम्म नाम लेखाउन, फराम भर्न, पुस्तक, पोसाक, स्टेशनरी लगायतमा लाग्ने खर्च गाउँपालिकाले उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ ।

बुहारी शिक्षामा समेटिन इच्छुक बुहारीहरूले कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने छ । ‘आमा शिक्षित भएको परिवार पनि शिक्षित हुन्छ । महिला हरेक हिसाबले आत्मनिर्भर बन्नुपर्छ तब मात्रै समाजको परिवर्तन सम्भव छ’, अध्यक्ष राईले भन्नुभयाे, ‘बुहारी शिक्षा कार्यक्रमबाट महिलाको क्षमता वृद्धि हुनेछ । कक्षा १२ पास गरेपछि जागिर खोज्लान् वा उच्च शिक्षाका लागि आफैँ अघि बढ्लान् । समाजमा अगुवाइ गर्लान् । खाली पढ्छु भन्ने इच्छाशक्ति भए पुग्छ । त्यस्ता बुहारीहरूलाई पढ्न कुनै खर्च लाग्ने छैन । मात्र पढिदिन पर्‍याे ।’

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया