‘एक भागवत् र एक गीता’ र ‘नाङ्गो गाउँ’ आजदेखि प्रदर्शनमा

 भदौ २९, २०८० शुक्रबार ८:१७:४१ | रासस
unn.prixa.net

काठमाण्डाै - आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका लक्षित दर्शक फरक छन् ।

नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्कीले चलचित्र ‘एक भागवत् र एक गीता’ (सामाजिक प्रेमकथा)’ मा ‘कमलामाई’को भूमिकामार्फत् यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गरेका छन् । 

'एउटा कलाकारले यस किसिमको भूमिकामार्फत आफूले फरक जीवन बाँच्नुका साथै दर्शकलाई पनि त्यो महसुस गराउन सक्छ । अभिनयमा विविधता खोजिरहँदा यस्ता भूमिका अवसर र चुनौती दुवै हुन्', उनले भने, 'मैले आफ्नो पात्रमार्फत् याे समुदायको दबिएका कथालाई पर्दामार्फत् व्यक्त गर्ने अवसर पाएको छु ।'

चलचित्रमा अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायत कलाकारले अभिनय गरेका छन् । 

सुनिलकुमार थापाले निर्माण गरेकाे याे चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाँङ्कन, मित्र डी गुरुङले सम्पादन तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् । 

आजैदेखि राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेकाे चलचित्र ‘नाङ्गो गाउँ’मा समाजलाई परिवर्तन गर्न राजनीतिको आवश्यकता र गाउँ पातलो हुँदै गएको विषयवस्तु देखाइएको छ।

'हामीले नेतामात्र नभइ छान्ने नागरिकलाई पनि प्रश्न गर्ने बेला भएको छ, त्यसको शुरुआत यस चलचित्रमा गरिएको छ', निर्देशक लामाले भने, 'यसमा सामाजिक र राजनीतिक परिवेशलाई उजागर गरिएको छ, हाम्रो समाजको राजनीतिक चेत, राजनीतिक प्रभाव र समाजभित्र हामी कस्तो अवस्थामा बसेका छौँ भन्ने यसमा देखाइएको छ ।'

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन् । यसको कथा स्वयं निर्देशक लामाले लेखेका हुन् । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया