'सालको पात' ले देखाएको वैदेशिक रोजगारीको पीडा

 असोज ३, २०८० बुधबार १९:३७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हास्यव्यङ्ग्य कलाकार तथा गायक राजा राजेन्द्र पोखरेलले यो वर्ष आफ्नो जन्मदिन पारेर नयाँ गीत 'सालको पात' सार्वजनिक गरेका छन् । राज राजेन्द्रले जन्मदिन (मङ्गलवार) मा केही शुभ काम गर्ने उद्देश्यले याे गीत सार्वजनिक गरेकाे बताएका छन् ।

हास्यव्यङ्ग्य कलाकारका रूपमा स्थापित राजा राजेन्द्रको मुख्य रूचि भने करिअरको शुरुवातदेखि नै सङ्गीत र गायन थियो । ललितकला क्याम्पसबाट सङ्गीतमा आईएफए तह उत्तीर्ण गरेका उनी गीत लेखन तथा सङ्गीत गर्ने काममा पनि उत्तिकै सक्रिय छन् । अरूका लागि हास्य कलाकार भए पनि उनी आफूलाई सधैँ गायक नै भन्न रुचाउँछन् ।

व्यावसायिक रूपमा हास्य कलाकार हुनुअघि नै राजा राजेन्द्रले केही गीत सार्वजनिक गरेका थिए । तर समयको मागअनुसार उनले आफूलाई हास्य कलाकारको रूपमा पनि निखार्दै लगे र व्यावसायिक रूपमा अघि बढे ।

अहिले उनी बौद्धिकस्तरको कमेडियनका रूपमा स्थापित भइसकेका छन् । झन्डै २५ वर्ष कमेडीमा खर्चेका उनले नेपाली कमेडी शो र कमेडी हब जस्ता टेलिभजन शोमा निर्देशक र कलाकारको रूपमा पनि काम गरिसकेका छन् ।

राजा राजेन्द्रले पछिल्लो समय गायनलाई पनि उत्तिकै समय दिइरहेको पाइन्छ । यही क्रममा सार्वजनिक भएको 'सालको पात' बोलको गीतमा वैदेशिक रोजगारीको कथालाई उठान गरिएको छ । गीतमा वैदेशिक रोजगारीमा गएका एक युवा साउदीको जेलमा परेपछि परिवारमा परेको पीडा र एक श्रीमतीको सङ्घर्षको कथा प्रस्तुत गरिएको छ । यसमा अभिनेत्री शिल्पा पोखरेलले साउदीको जेलमा परेका श्रीमानलाई झिकाउन सक्दो प्रयास गरिरहेकी श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् ।

ज्ञानेन्द्र शर्मा हुमागाईँको निर्देशन रहेको यसै गीतमार्फत कलाकार युवराज गौतमले डेब्यु गरेका छन् । युवराजले पहिलो भिडियो मै अभिनेत्री शिल्पासँग जोडी बाँध्ने अवसर पाएका हुन् । कलाकार सुरवीर पण्डित अर्थात् 'दाह्री बा' र बाल कलाकार एलेक्श खड्का पनि मुख्य कलाकारको रूपमा रहेका छन् । राजा राजेन्द्रको आवाज रहेको यस गीतमा श्रमदीप चौलागाईँको शब्द र सङ्गीत रहेको छ । भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन् ।

राजा राजेन्द्रका 'टेबल फ्यान', 'पिरतीको चस्मा', 'लोकल नभई हुँदैन' जस्ता गीतहरू चर्चित छन् ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया