श्रम बजारका समस्या समाधानका लागि सामूहिक प्रयास हुनुपर्नेमा नेपालको जोड

 मंसिर २९, २०८० शुक्रबार ७:४७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपालले खाडीका श्रम गन्तव्य देशहरुलाई सामूहिक प्रयासबाट श्रम बजारका समस्या समाधान गर्न आग्रह गरेको छ । श्रमबजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादनमा लगानी तथा श्रमिक र परिवारको सुरक्षाका लागि सामाजिक सुरक्षामा सुनिश्चितताको लागि पनि नेपालले जोड दिएको छ ।

साउदी अरबको रियादमा हिजो भएको मन्त्रिस्तरीय र व्यावसायिक गोलमेच सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामूहिक प्रयासबाट श्रम बजार व्यवस्थित गरेर उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने र सामाजिक सुरक्षा दिनुपर्ने बताउनुभएको हो ।

नेपालमा सङ्गठित श्रमको अनिवार्यतालाई आफूहरुले बुझेको उल्लेख गर्दै मन्त्री भण्डारीले सीप विकासलाई प्राथमिकता दिएको बताउनुभयो । श्रमिक र रोजगारदाताबीच सम्बन्ध निर्माण गर्न सरकारी निकायले विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उहाँले सामाजिक सुरक्षा कसरी प्रदान गर्ने भन्ने उत्तरदायित्व सरकारको हुने उल्लेख गर्नुभयो ।

मन्त्री भण्डारीले कुशल र उत्पादक श्रम बजारका लागि अन्तर्राष्ट्रिय मञ्चमार्फत पारस्परिक सूचना र शिक्षा आदानप्रदान गर्न तथा सामूहिकरुपमा काम गर्नका लागि सम्पर्क सञ्जाल स्थापना गर्न प्रस्तावसमेत गर्नुभएको छ ।

खाडी देशले नेपालबाट अदक्ष श्रमिक लैजाने गरेको भन्दै उहाँले सीपयुक्त जनशक्ति उत्पादनका लागि मुख्य गन्तव्य देशहरुसँग बारम्बार अनुरोध गर्दै आएको पनि बताउनुभएको छ । मन्त्री भण्डारीले खाडीका देशहरुमा श्रमिकहरुले अझै बाध्यकारी श्रम गर्नुपरेको भन्दै सरकार, रोजगारदाता र श्रमिकबीच विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । खाडीका देशहरुमा श्रम नीति अझै लचिलो नहुँदा श्रमिकलाई आफूले चाहेको रोजगारदाता छनोट गर्न समस्या छ ।

यस्तै, करारपत्र समाप्त भइसकेपछि रोजगारदाताको अनुमति नभएसम्म देश छाड्न या आफूले रोजेको अर्को रोजगारदातासँग गएर काम गर्न पनि कठिन हुने गरेको छ । त्यसले खाडीका देशहरुलाई लचिलो श्रम नीति अपनाउन पनि नेपालले आग्रह गरेको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया