विदेश जाने श्रमिक बढेअनुसार रेमिट्यान्स आएन : जिफन्ट प्रतिवेदन

 पुस २, २०८० सोमबार ८:५०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पछिल्ला वर्षहरुमा वैदेशिक रोजगारीका लागि विभिन्न देश जाने नेपाली श्रमिकको सङ्ख्या बढ पनि रेमिट्यान्स भने त्यसअनुसार आउन सकेको छैन ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको अनुपातमा रेमिट्यान्स निकै कम आएको छ । जिफन्टले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा २७७ प्रतिशत र २०७९/०८० मा ३ सय प्रतिशत भन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको जनाएको छ ।

आ.व. २०७७/०७८ मा ४२ दशमलव २४ प्रतिशत र आ.व. २०७८/०७९ मा ४६ दशमलव ३२ प्रतिशत दक्ष श्रमिक विदेश गएकोमा २०७९/०८० मा ६६ प्रतिशत दक्ष श्रमिक विदेश गएका छन् । अदक्ष श्रमिकको तुलनामा दक्ष श्रमिक विदेशिनेको सङ्ख्या १५ प्रतिशतले बढी हुन्छ भन्ने मान्दा पनि कम्तीमा ७ खर्ब रेमिट्यान्स थप भइ कुल ५० खर्बभन्दा बढी हुने रेमिट्यान्स भित्रिनुपर्ने जिफन्टका महासचिव लक्ष्मण शर्माले बताउनु भयो । उहाँले अहिले केवल १२ खर्ब मात्र नेपालमा रेमिट्यान्स आएको देखिएकाले वार्षिक ३८ खर्ब रेमिट्यान्स हराइरहेको दाबी गर्दै यसबारेमा अध्ययन गर्न आवश्यक रहेको बताउनु भयो । आव ०७९/८० मा १२ खर्ब २० अर्ब रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ ।

अघिल्लो आव २०७७/७८ मा भने नौ खर्ब ६१ अर्ब, ०७८/७९ मा १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो ।  विदेशिने कामदार बढे पनि रेमिट्यान्स नबढ्नुले त्यस्तो रकम गैरकानुनी प्रयोग भएको हुन सक्ने जिफन्टले जनाएको छ । दक्ष जनशक्ति पलायन हुँदा विदेशमा नै परिवार लैजाने र उतै व्यवसाय गर्ने हुँदा पनि रेमिट्यान्सको अनुपात नबढेको हुन सक्ने जिफन्टको भनाइ छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि युरोप आकर्षक गन्तव्य बन्न थालेको छ । रोमानिया, क्रोएसिया, माल्टा, साइप्रस, पोल्यान्ड र बेलायततर्फ नेपाली कामदार मोडिन थालेको महासङ्घको प्रतिवेदनमा उल्लेख छ 

वैदेशिक रोजगारीमा जाने कामदारमध्ये पछिल्लो आठ महिनामा दुई सय तीनजना पीडितले जिफन्टमा उजुरी दिएका छन् । यस अवधिमा जिफन्टमा ७८ वटा उजुरी परेका छन् । जिफन्टले नेपालबाहिरका कामदारलाई सहयोग गर्न गन्तव्य देशको कानुन पालना हुने गरी जिफन्ट सहयोग समूह बनाइ श्रमिकको समस्या समाधान गर्ने विधि अवलम्बन गरेको छ । अहिले दक्षिण कोरिया, मलेसिया, कतार, कुवेत, बहराइनमा जिफन्ट सहयोग समूह क्रियाशील छन् । जोर्डन, लेबननमा स्थानीय युनियनसँग जोडेर नै काम गर्ने वातावरण बनाइएको छ भने यूएईमा हालै मात्रै समूह पुनः व्यवस्थापन गरिएको छ । 

जिफन्टमा परेको उजुरीमध्ये रोजगारीमा पठाइदिन्छु भनेर रकम ठगी गरेको बढी छन् ।  त्यस्तै, बिरामी भइ काम गर्न नसक्दा कम्पनीले उपचार नगरेका कारण उपचारकै लागि उद्धार गर्नुपरेको, सम्झौताअनुसार काम र तलब नपाएको, मृतकको शव नेपाल भिकाउन नसकेको, क्षतिपूर्ति नपाएको, जेलमा परेका श्रमिकाको उद्धार नभएको गुनासो आउने गरेको जिफन्टले जनाएको छ । साथै, परिवारसँग भेट्टाइदिन र अलपत्र परेको श्रमिकको उद्धार गरिदिन भन्दै जिफन्टमा उजुरी पर्ने गरेको छ ।

यस्तै, १४ वर्षको अवधिमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमध्ये १२ हजार ३८ जनाले ज्यान गुमाएका छन् । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया