विधान अधिवेशनले पार्टीकाे रक्षा र विकास गर्न सहयाेग पुग्याे : अध्यक्ष प्रचण्ड

 फागुन ३, २०८० बिहिबार १८:३२:१७ | रासस
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गर्नुभएको छ ।

माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन सकिएपछि पार्टीको पदाधिकारी बैठक बसेको थियो । बैठकलगतै शुरु भएको अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ किसिमले अगाडि बढ्नेमा विश्वास व्यक्त गर्नुभयो ।

विधान अधिवेशनलगतै विशेष महाधिवेशन तयारीको प्रक्रिया शुरु हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचार अझ बढी केन्द्रित र संश्लेषित हुने बताउनुभयो । उहाँले विधान अधिवेशनले पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले अहिले नै पार्टीको नाम र चुनाव चिह्न नबदल्ने भन्दै अब केन्द्रीय सदस्यहरू पनि निर्वाचित हुनुपर्ने व्यवस्था गर्न प्रस्ताव गर्नुभएको छ ।

प्रचण्डले यही फागुन १ गते प्रस्तुत गर्नुभएको विधान मस्यौदामाथि २० समूहबाट सुझाव सङ्कलन भएकाे थियो । कमलादीकाे प्रज्ञा प्रतिष्ठानमा शुरु अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । बुधवार १३ समूहबाट र आज सात समूहबाट सुझाव प्रस्तुत भएकाे थियो ।

आज विधानमाथि सुझाव प्रस्तुत गर्दै कमला नहर्कीले पार्टीलाई श्रम र उत्पादनमा सहभागी गराउने, रूपान्तरणको नयाँ अभियान थालनी गनुपर्ने र समावेशी समूहबाट खसआर्यलाई हटाउनुपर्ने लगायतका सुझाव प्रस्तुत गर्नुभयो ।

नेता प्रेम बयकले विधानको प्रस्तावना छोटो हुनुपर्ने एवम् जनउत्तरदायी पार्टी बनाउने गरी पार्टी निर्माण गर्नुपर्ने सुझाव प्रस्तुत गर्नुभयो । उहाँले सङ्गठनात्मक सिद्धान्त छोटो हुनुपर्ने र मानार्थ सदस्य थप्नुपर्ने सुझाव प्रस्तुत गर्नुभयो ।

नेता युवराज दुलालले चुनाव चिह्न फेर्नुपर्ने, जनवादी केन्द्रीयता मात्रै राख्नु राम्रो हुने तथा विचारको स्वतन्त्रता र काम कारबाहीमा एकरूपतामा राख्नुपर्ने सुझाव प्रस्तुत गर्नुभयो । उहाँले समान पदमा दुई कार्यकाल मात्र राख्ने व्यवस्था गर्नुपर्नेमा आफ्नो समूहको जोड रहेको उल्लेख गर्नुभयो ।

पार्टी केन्द्रीय सदस्य राजकाजी गुरुङले विधानको भाषा उत्कृष्ट हुनुपर्ने उल्लेख गर्दै विधान पालना गर्ने सामूहिक प्रतिबद्धता आउनुपर्ने सुझाव पेस गर्नुभयो । उहाँले जनप्रतिनिधि चयन गर्दा पार्टी कमिटीबाट निर्वाचित हुने प्रावधान राख्नुपर्ने उहाँकाे सुझाव छ ।

केन्द्रीय सदस्य रामदीप आचार्यले पार्टीलाई प्रबलीकरण हो वा पुनर्निर्माण गर्ने हो यसलाई स्पष्ट पार्नुपर्ने सुझाव दिनुभयो । उहाँले चुनावका लागि ठूला तहहरू हटाउनुपर्ने सुझाव दिनुभयो ।

केन्द्रीय सदस्य कृष्णध्वज खड्काले पार्टीमा वैकल्पिक केन्द्रीय सदस्यको व्यवस्था र केन्द्रीय समितिको विधान परिवर्तन गर्न नपाउने गरी व्यवस्था गर्नुपर्ने सुझाव पेस गर्नुभयो । विभिन्न आयोगलाई प्रभावकारी तुल्याउनुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै उहाँले विषयगत दक्षता भएकालाई समेटेर सङ्गठित गर्नुपर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य सुमन देवकोटाले कार्यकर्ताको सूचक निर्माण गर्नुपर्ने र सम्पत्ति सार्वजनिक गर्नुपर्ने सुझाव आफ्नो समूहको रहेको बताउनुभयो । सङ्घीयताको मर्मअनुसार विधान तयार गरिनुपर्ने स्पष्ट गर्दै विभागहरू पनि विधानमै उल्लेख गर्नुपर्ने सुझाव पेस गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया