'क्वार्ज क्रिस्टल' गोरखकाली मन्दिर परिसरमा राखिने

 फागुन ५, २०८० शनिबार १८:३:३ | किरण लोहनी
unn.prixa.net

गाेरखा – जिल्ला प्रहरी कार्यालय गोरखाले गएको असार १४ गते बरामद गरेको बहुमूल्य ढुङ्गा 'क्वार्ज क्रिस्टल' गोरखकाली मन्दिर परिसरमा राखिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको शुक्रवारको मन्त्रीस्तरको निर्णयअनुसार क्वार्ज क्रिस्टल गोरखकाली मन्दिर परिसरमा राखिने भएको हो ।

जिल्ला प्रशासन कार्यालयले गएको माघ २४ गते क्वार्ज क्रिस्टलको व्यवस्थापनका विषयमा खानी तथा भूगर्भ विभागलाई पत्र लेखेको थियो । विभागले मन्त्रालयको राय मागेकोमा नेपाल सरकारको स्वामित्व रहने गरी गोरखामै संरक्षण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।

‘खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा ३ बमोजिम नेपाल सरकारको सम्पत्ति हुने गरी उक्त सम्पत्ति संरक्षण गर्न उचित स्थान र सुरक्षा प्रबन्ध गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को खण्ड (प) बमोजिम संरक्षण गर्न–गराउन त्यहाँ कार्यालयमार्फत गोरखा नगरपालिकालाई लेखी पठाउने भनी मिति २०८०/११/०४ मा मन्त्रीस्तरको निर्णय भएको ब्यहोरा अनुरोध छ’, उद्योग मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई लेखेको पत्रमा भनिएको छ ।

मन्त्रालयको पत्रबारे जानकारी गराउन तथा क्वार्ज क्रिस्टलको व्यवस्थापन कसरी गर्ने भन्नेबारे प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज सर्वपक्षीय छलफल पनि गर्नुभएको छ । छलफलमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, पत्रकार र सामाजिक सङ्घ–संस्थाका प्रतिनिधिले पनि गोरखकाली मन्दिर परिसरमा त्यो पत्थर राख्नुपर्ने बताएका थिए । त्यहीअनुसार गोरखकाली मन्दिर र गोरखा दरबारको बिचमा रहेको रङ्ग महलको भुइँ तलाको छिँडीमा सुरक्षा प्रबन्धसहित क्वार्ज क्रिस्टलको संरक्षण गरिने प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।

छलफलमा सहभागी धेरैजसोले क्रिस्टलको संरक्षण र सुरक्षाका सम्बन्धमा राखेको चासोबारे दाहालले भन्नुभयो, ‘क्वार्ज क्रिस्टलको विषयमा यो अन्तिम बैठक हो, अब हामी मन्त्रालयको निर्णय कार्यान्वयन गर्छाैँ । पत्थरको व्यवस्थापन जिल्ला सुरक्षा समितिले गर्छ ।’

मन्त्रालयको निर्णयअनुसार क्वार्ज क्रिस्टल संरक्षण र व्यवस्थापनको जिम्मा गोरखा नगरपालिकाले पाएको छ । मेयर कृष्णबहादुर रानाले पारदर्शी सिसाभित्र सबैले देख्ने गरी पत्थर राखिने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयको टोलीले गोरखा नगरपालिका–७ सतिपिपलमा चन्द्रमान शाहीको घरमा रहेको ‘टल्कने ढुङ्गा’ लाखौँ रुपैयाँमा खरिद/बिक्रीका लागि मोलमोलाइ भइरहेको अवस्थामा बरामद गरेको थियाे । खानी तथा भूगर्भ विभागका भूगर्भविद्को समूहले गएकाे साउन अन्तिम हप्ता दुई दिन लगाएर याे पत्थरकाे विभिन्न पक्ष अध्ययन गरेको थियो ।

भूगर्भविद्को टोलीले ढुङ्गाको नापतौल लिनुका साथै यसको अन्य विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको थियो । संसारभरका धातुलाई कडापनका आधारमा १० समूहमा वर्गीकरण गर्ने गरिएको बताउँदै भूगर्भविद् डाक्टर सुस्मिता भण्डारीले कडापनका आधारमा याे चट्टान साताैँ नम्बरमा रहेको जानकारी दिनुभयो ।

क्वार्ज क्रिस्टल मुख्यरूपमा गरगहना, सजावटका सामग्री बनाउन प्रयोग हुने गरेको छ । घडी, कम्प्युटर, रेडियो ट्रान्समिटर जस्ता विद्युतीय उपकरणहरूमा पनि आंशिकरूपमा यसकाे प्रयोग हुने गरेको भूगर्भविद् भण्डारीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया