जापानले १७ वर्षपछि ब्याजदर बढायो

 चैत ६, २०८० मंगलबार १८:१६:४८ | एजेन्सी
unn.prixa.net

जापानको केन्द्रीय बैंक (बीओजे) ले १७ वर्षपछि ब्यादर बढाएको छ । केन्द्रीय बैंकले ब्याजदर माइनस शून्य दशमलव एक प्रतिशतबाट बढाएर शून्य दशमलव एक प्रतिशतमा पुर्‍याएको बीबीसीले जनाएको छ ।

जापानमा सन् २००७ पछि ब्याजदर बढेको पहिलो पटक हो । यस्तै आठ वर्षको नकारात्मक ब्याजदर पनि अन्त्य भएको छ । स्थिर बनेको अर्थतन्त्रलाई टेवा दिन भन्दै सन् २०१६ मा जापानको केन्द्रीय बैंकले ब्याजदर घटाएर शून्यभन्दा तल झारेको थियो । नकारात्मक ब्याजदर हुने जापान विश्वको एकमात्रै देश रहेकोमा अब कुनै पनि देशमा ब्याजदर नकरात्मक स्तरमा छैन ।

ब्याजदर शून्यभन्दा पनि तल झर्नुलाई नकारात्मक वा ऋणात्मक ब्याजदर भनिन्छ । ब्याजदर ऋणात्मक हुँदा बैंकले ऋणीलाई उल्टै पैसा दिएर ऋण दिन्छ भने निक्षेपकर्ताले बचत गरेको पैसामा ब्याज पाउँदैनन् ।

उपभोक्ता मूल्यमा आधारित महँगी बढेर देशभर तलब वृद्धि भइरहेका बेला केन्द्रीय बैंकले ब्याजदर बढाएको हो । यही महिनाको शुरुमा जापानका ठूला कम्पनीहरूले कर्मचारीको तलब पाँच दशमलव २८ प्रतिशतले बढाउन सहमति गरेका थिए । यो वृद्धि तीन दशकभन्दा बढी समययताकै धेरै थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया