रोमानियामा रोजगारी गर्न जानेले जान्नैपर्ने केही तथ्य

 असोज ४, २०८० बिहिबार १२:७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

रोमानिया पूर्वी युरोपमा अवस्थित छ  । यसको सिमाना दक्षिण भेगमा बुल्गारिया, उत्तरमा यूक्रेन, पश्चिममा हङ्गेरी, दक्षिण पश्चिममा सर्बिया र पूर्वमा मोमाल्डोभासँग जोडिएको छ । यो युरोपको १२ औँ ठुलो देश हो । यूरोपेली संघको ७ औँ सबैभन्दा धेरै जनसङ्ख्या भएको देशमा पर्दछ । यहाँको सबैभन्दा ठुलो सहर र राजधानी बुखारेस्ट हो । यो एउटा उच्च आय भएको विकासशील देश हो ।  अर्थव्यवस्था मुख्य रूपले सेवाहरूमा आधारित रहेको छ । नेपालमा जस्तै रोमानियामा पनि सरकारको प्रमुख प्रधानमन्त्री  र राज्यको प्रमुख राष्ट्रपति छन् । कार्यकारी कार्यहरू प्रधानमन्त्री र राष्ट्रपति दुवैले सञ्चालन गर्छन् ।

राजधानी : बुखारेस्ट

समय भिन्नता : नेपाल समयभन्दा २ घण्टा ४५ मिनेट ढिला 

मुद्रा : रोमानियाली ल्यु ‘lei’ । एक रोमानियाली ल्यु  बराबर नेपालमा सरदर ३० नेपाली रुपैयाँ हुन्छ । समय अनुसार विनिमय दर घटबढ हुन सक्छ ।

भाषा : मूख्य भाषा रोमानियाली हो ।  यहाँका स्थानीयले रोमानियाली भाषा नै बढी प्रयोग गर्छन् । हंगेरी रोमानियाको अर्को भाषा हो । यस बाहेक रोमन, जर्मन, टर्कीस्, सर्बियाई र अङ्ग्रेजी भाषा पनि बोलिन्छ ।

धर्म :  ईसाई धर्म मान्नेहरू धेरै छन् ।

हावापानी : गर्मी र जाडो दुवै खाले मौसम हुन्छ । तर जाडोको मौसममा भने यहाँ चिसो हुन्छ । गर्मीमा २५ डिग्री सेल्सियसदेखि ३५ डिग्री सेल्सियससम्मको तापक्रम हुन्छ । जाडोमा भने माइनस १० डिग्री सेल्सियसदेखि माइनस १५ डिग्री सेल्सियससम्म हुनसक्छ । पानी वर्षभरी नै पर्छ ।

भिसा सम्बन्धी प्रावधान : ९० दिनभन्दा लामो अवधिको लागि रोमानिया बस्न चाहने विदेशी नागरिकहरूले लामो समय बस्ने भिसा (Romania long-stay visa) को लागि आवेदन दिनुपर्छ । रोजगारीको लागि कार्य भिसा (Romania Work Visa) लाई रोमानिया रोजगार भिसा (D/AM) पनि भनिन्छ ।

यी भिसा रोमानियाली कम्पनीमा स:शुल्क रोजगारीको लागि जाने विदेशी नागरिकहरूको लागि जारी गरिन्छ । रोमानियाको कामको भिसा प्राप्त गर्न, रोमानियाली इन्स्पेक्टोरेट जनरलबाट वर्क परमिट (काम गर्ने अनुमति) जारी हुनुपर्छ । यो वर्क परमिटको लागि रोमानियामा तपाईँको रोजगारदाताले तपाईँको तर्फबाट आवेदन दिनुपर्छ । वर्क परमिट प्राप्त गरेपछि आफ्नो देशबाट रोमानिया रोजगार भिसाको लागि आवेदन दिन सक्नुहुन्छ ।

रोमानियामा आप्रवासीहरूले मन पराउने गन्तब्य बुखारेस्ट र इल्फोभ काउन्टी हुन् । साथै अन्य काउन्टीहरू (क्षेत्रीय विभाजन)  कन्सट्यान्सा, टिमिस र क्लुस हुन् ।

रोजगारीका क्षेत्रहरू : यहाँ होटेल, रेस्टुरेन्ट, घरको काम, बच्चाको रेखदेख, निर्माण क्षेत्र र कृषिमा कामको अवसर छ ।

प्रति हप्ता औसत कामको अवधी : ४० घण्टा (दैनिक ८ घण्टा) तोकिएको छ ।

सामान्य काम गर्ने दिन: सोमबारदेखि शुक्रवार, बिहान ९:०० देखि ५:०० बजेसम्म ।

आधारभूत तलब / ज्याला : रोमानियामा २०२३ मा मासिक आधारभूत तलब / ज्याला ३,००० रोमानियाली ल्यु (सरदर ९०,००० नेपाली रुपैयाँ) तोकिएको छ । रोमानियामा काम गर्ने श्रमिकहरुले वर्षमा कम्तिमा पनि २० दिन तलबी बिदा पाउने व्यवस्था छ ।

रोमानियाबाट युरोपका अरू देश यात्रा गर्न पाइँदैन

काम गर्ने भिसामा गएका नेपालीहरू रोमानियाबाहेक युरोपका अरू देश प्रवेश गर्न पाउँदैनन् । युरोपका अरू देश जान परेमा जुन देश जान चाहेको हो त्यो देशको भिसा लिनुपर्छ । किनकि युरोपेली देश भए पनि रोमानिया शेन्जेन क्षेत्र भित्र पर्दैन । स्वतन्त्र रूपमा मानिसको आवतजावतसँगै सामानहरू समेत सिमाना वारपार गर्न सक्ने गरी युरोपका विभिन्न २७ वटा देशहरुबीच शेन्जेन सम्झौता भएको छ । यी २७ मध्ये कुनै एक देशको भिसा भएकाहरूले २७ वटै देशमा विना रोकावट आवतजावत गर्न पाउँछन् । तर रोमानिया शेन्जेन क्षेत्र सदस्य नभएकाले रोमानियाको भिसाले युरोपका अन्य देशमा यात्रा गर्न पाइँदैन ।

रोमानियाले भोगिरहेको समस्या 

२००७ मा युरोपेली सङ्घमा सामेल भएदेखि रोमानियाले युवा पलायनको समस्या भोग्दै आएको छ । युरोपेली संघका जुनसुकै देशमा बस्ने र काम गर्ने अधिकार पाएसँगै लाखौं रोमानियाली नागरिकहरू देश छाडेर विदेश गइरहेका छन् । देशमा कामदारको अभाव परिपूर्ति गर्न रोमानियाले एसियाली देशहरूबाट पनि श्रमिकहरू लगिरहेका छ ।

रोमानियामा एसियाली कामदारहरू (जस्तै भियतनामी, भारतीय र नेपाली) को माग होटेल, रेस्टुरेन्ट, बच्चाको रेखदेख र निर्माण कार्यहरूका लागि आउने गरेको छ ।

ट्राफिक नियम : रोमानियामा नेपालमा भन्दा फरक सडकको दायाँ तर्फबाट गाडी चलाउने नियम छ । ट्रामहरू (एक प्रकारको लामो बस) बाहेकका सबै गाडीलाई बायाँबाट मात्र ओभरटेक गर्नुपर्छ । गाडी चलाउने  कानुनी उमेर १८ वर्ष हो । जाँडरक्सी खाएर गाडी चलाउन पाइँदैन । पैदलयात्रीले सधैँ सडक पेटी (फुटपाथ) को प्रयोग गर्नु पर्छ । सडक पार गर्दा आफ्नो सुरक्षा सुनिश्चित गर्न जेब्रा क्रसिङ, ट्राफिक टापु, फुटब्रिज, सबवे र ट्राफिक बत्तीहरू जस्ता तोकिएका क्रसिङहरू (क्षेत्र) प्रयोग गर्नुपर्छ । बाटो काट्न सुरु गर्नुअघि गाडीहरु पूर्ण रूपमा रोकिएको सुनिश्चित गर्नुपर्छ । बाटो काट्दा सधैँ स्टडहरू (तोकिएका धर्साहरू) बीच वा जेब्राको चिन्हहरू माथि हिँड्नुपर्छ ।

गर्न नहुने कुराहरू

·         लागू पदार्थ ओसारपसार तथा प्रयोग नगर्ने ।

·         गैरकानुनी रूपमा नबस्ने ।

·         आफ्ना कागजात समय समयमा नवीकरण गरिरहने ।

·         बिचौलियाहरूको विश्वासमा पर्ने र जागिर छोड्ने नगर्ने ।

·         गैरकानुनी कारोबार नगर्ने ।

·         श्रम कानुन नतोड्ने ।

रोमानिया संस्थागत रूपमा म्यानपावर व्यवसायीले वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने गरी सरकारले खुला गरेको देश हो । यो देशमा श्रमिक पठाउन कुन म्यानपावर कम्पनीले कुन कुन कामको माग ल्याएको छ र के कस्ता सेवा सुविधा पाइन्छ भन्ने जानकारी वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत थाहा पाउन सकिन्छ।

यसका लागि विभागको वेबसाइट www.dofe.gov.np  मा गई वैदेशिक रोजगारीको खोजी लेखिएको ठाउँमा क्लिक गरी आफूलाई आवश्यक परेको जानकारी खोज्न सकिन्छ ।

नेपाल र रोमानियाबीच १९ असोज २०८० मा श्रम समझदारी भएको छ । दुई देशबीच भएको श्रम समझदारीले रोमानियामा काम गर्ने नेपालीको सामाजिक सुरक्षा लगायत रोमानियाली नागरिक सरह सेवा सुविधाको सुनिश्चित गरेको छ ।

श्रम समझदारी कार्यान्वयनमा गएपछि अहिले लाग्दै आएको चर्को लागत शुल्कको पनि व्यवस्थापन हुने श्रम मन्त्रालयले जनाएको छ । रोमानिया जाने श्रमिकको भर्ना शुल्क रोजगारदाताले नै तिर्ने गरी छलफल अघि बढेको छ । 

रोमानियामा नेपालको आधिकारिक नियोग छैन । जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले रोमानियामा द्विपक्षीय मामिला हेर्ने गर्छ । रोमानियामा समस्याको सामना गरिरहेका नेपालीहरूले औपचारिक कूटनीतिक अधिकार नभएका अवैतनिक कन्सुलर  वा बर्लिनस्थित नेपाली दूतावासलाई नै सम्पर्क गर्नुपर्छ । तर सरकारले रोमानियामा छिट्टै नेपाली नियोगको स्थापना गर्ने पनि घोषणा गरिसकेको छ । 

नेपाली दूतावास  बर्लिन, जर्मनी

वेबसाइट : https://de.nepalembassy.gov.np/contact/

ठेगाना : Guerickestrasse 27(2nd Floor)10587 Berlin-Charlottenburg

सम्पर्क फोन नम्बरहरु : +49 (030) 34 35 99 -20,-21,-22 

इमेल [email protected], [email protected]

तपाईको प्रतिक्रिया