एसियाली देशका श्रमिकहरुको रोजाईमा रहेको युरोपको देश माल्टा

 असोज ५, २०८० शुक्रबार ११:५२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

माल्टा युरोपको स्वतन्त्र देश हो । यो युरोपको भूमध्य सागरको केन्द्रमा अवस्थित छ । यहाँका तीन वटा छुट्टा छुट्टै टापुहरूमा मानिसहरूको बसोबास छ । तीन टापुहरू मिलेर बनेको माल्टाको भू-भाग ३१६ वर्ग किलोमिटरमा फैलिएको छ । यो देश ५ क्षेत्रमा विभाजित छ । प्रत्येकको आफ्नै क्षेत्रीय समिति छ । जसले स्थानीय र राष्ट्रिय सरकारबीच मध्यस्थताको काम गर्छन् ।

यहाँको जनसङ्ख्या ५ लाख ३३ हजार २८६ छ । जनसङ्ख्या र भू - भाग दुवै हिसाबले यो देश युरोपियन युनियन (ईयु)को सबैभन्दा सानो सदस्य राष्ट्र हो । माल्टाबाट सबैभन्दा नजिकको ठाउँ इटालीको सिसिली पर्छ । यो देश शेन्जेन क्षेत्र भित्र पर्दछ ।

स्वतन्त्र रूपमा मानिसको आवतजावतसँगै सामानहरू समेत सिमाना वारपार गर्न सक्ने गरी युरोपका विभिन्न २७ वटा देशहरूबीच शेन्जेन सम्झौता भएको छ । यी २७ मध्ये कुनै एक देशको भिसा भएकाहरूले २७ वटै देशमा विना रोकावट आवतजावत गर्न सक्छन् । यिनै २७ देशहरूलाई शेन्जेन क्षेत्र भनिन्छ ।

राजधानी : भेलेट्टा

भाषा : माल्टीज / अङ्ग्रेजी

मुद्रा : यूरो ।

समय भिन्नता : नेपाल समयभन्दा ३ घण्टा ४५ मिनेट ढिला छ ।

शेन्जेन क्षेत्र सदस्य : डिसेम्बर २००७ देखि

हावापानी :   मौसम मध्यम खालको छ ।  यहाँ गर्मीयाम तातो र सुख्खा हुन्छ । तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्छ । जाडोयाममा भने धेरै चिसो हुँदैन । हल्का जाडो हुन्छ र पानी पनि पर्छ । जाडोको समयमा डिसेम्बरदेखि फेब्रुअरीसम्म तापक्रम १५ देखि १७ डिग्री सेल्सियसमा मात्र झर्छ । अर्थतन्त्र, रोजगारीको अवसर र हावापानीका कारण पनि बस्न र काम गर्नको लागि उत्कृष्ट ठाउँहरूमध्ये माल्टालाई पनि एक मानिन्छ ।  

भिसा सम्बन्धी नियम : माल्टामा तीन महिनाभन्दा बढी बस्नको लागि विदेशी नागरिकहरूले राष्ट्रिय लामो-बस्ने भिसा वा D भिसा (The National Visa, long stay / D-Visa) को लागि आवेदन दिनु पर्छ ।

D भिसाले विदेशी नागरिकहरूलाई माल्टामा तीन महिनाभन्दा बढी बस्न अनुमति दिन्छ । यो तीन महिनाभन्दा बढी बस्न र काम गर्न चाहने श्रमिकका लागि आवश्यक पर्छ । यो भिसा कामको सम्झौता मितिसम्म नवीकरण हुन्छ ।

लामो समय बस्ने भिसाको अतिरिक्त विदेशी कामदारहरूलाई वर्क परमिट चाहिन्छ । माल्टामा यो अनुमतिलाई रोजगार इजाजतपत्र (employment license) भनिन्छ । कुनै पनि विदेशी कामदारलाई आफ्नो कम्पनीमा काममा लगाउँदा रोजगारदाताले नै रोजगार इजाजत पत्रको लागि आवेदन दिनु पर्ने नियम छ । विदेशी श्रमिकहरूले माल्टाको कुल श्रम शक्तिको २७.९% ओगटेका छन् । पछिल्लो समय भने एसियाली श्रमिकहरूको सङ्ख्या बढ्दो क्रममा छ ।

पारिश्रमिक : माल्टामा मासिक न्यूनतम ज्याला ८३५ युरो तोकिएको छ । जसको नेपाली रुपैयाँ एक लाख १९ हजार ३३९ बराबर हुन्छ । तर समय अनुसार विनिमय दर घटबढ हुनसक्छ ।  यहाँ दिनको ८ घण्टा वा हप्ताको ४० घण्टा काम गर्नु पर्ने नियम छ ।

रोजगारीको अवसर : क्लिनर, डेलिभरी पर्सन, निर्माण कार्यहरू, हाउसकीपिङ र होटल, रेस्टुरेन्ट लगायतका क्षेत्रमा बढी मात्रमा काम पाइन्छ । 

ट्राफिक नियम : माल्टामा गाडी नेपालमा जस्तै सडकको बायाँतर्फ चल्छन् । गाडी चलाउनको लागि कानुनी उमेर १८ वर्ष हो । रगतमा ०.०८% वा माथिको अल्कोहलको स्तर भए सवारी साधन हाँक्न निषेध छ । आपतकालीन अवस्थामा ११२ डायल गरेर सहयोग लिन सकिन्छ ।

पैदलयात्रीले सधैँ सडक पेटी (footpath) को प्रयोग गर्नु पर्छ । सडक पार गर्दा आफ्नो सुरक्षा सुनिश्चित गर्न पेलिकन क्रसिङ, जेब्राक्रस, सबवे, फुटब्रिज, टापु र ट्राफिक बत्तीहरू जस्ता तोकिएका ठाउँहरू प्रयोग गर्नुपर्छ । बाटो काट्न सुरु गर्नुअघि गाडीहरू पूर्ण रूपमा रोकिएको सुनिश्चित गर्नुपर्छ । बाटो काट्दा सधैँ स्टडहरूबीच (सडकमा ओछ्याइएका चम्किला बत्तीहरू वा जेब्राको चिन्हहरू) माथि हिँड्नुपर्छ ।

माल्टा यात्रा गर्दा आफूसँग लैजान नमिल्ने सामग्रीहरू:

  • मासु वा मासु भएको उत्पादनहरू
  • दूध वा डेरी उत्पादनहरू
  • ताजा फल 
  •  तरकारी
  • बिउ वा बिरुवाहरू

माल्टा संस्थागत रूपमा म्यानपावर व्यवसायीले वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने गरी सरकारले खुला गरेको देश हो । यो देशमा श्रमिक पठाउन कुन म्यानपावर कम्पनीले कुन कुन कामको माग ल्याएको छ र के कस्ता सेवा सुविधा पाइन्छ भन्ने जानकारी वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत थाहा पाउन सकिन्छ । यसका लागि विभागको वेबसाइट www.dofe.gov.np मा गई वैदेशिक रोजगारीको खोजी लेखिएको ठाउँमा क्लिक गरी आफूलाई आवश्यक परेको जानकारी खोज्न सकिन्छ ।

माल्टामा नेपालको आधिकारिक नेपाली नियोग छैन । लण्डनमा रहेको नेपाली दूतावासले माल्टामा द्विपक्षीय मामिला हेर्छ । माल्टामा कार्यरत रहँदा कुनै समस्या पर्‍यो वा दूतावासमार्फत कुनै काम गर्न पर्‍यो भने लण्डनस्थित नेपाली दूतावासलाई नै सम्पर्क गर्नुपर्छ ।

त्यस्तै नेपालमा पनि माल्टाको आधिकारिक नियोग छैन । नयाँ दिल्लीस्थित माल्टिज हाइकमिसनले नेपाल (भिसा) सम्बन्धी सबै कामकाज हेर्ने गर्छ । माल्टाले नेपालमा मानार्थ महावाणिज्यदूत भने नियुक्त गरेको छ ।

नेपाली दूतावास, लण्डन

वेबसाइट : https://uk.nepalembassy.gov.np/nepal-malta-relations/

ठेगाना : 12A केन्सिङ्टन प्यालेस गार्डेन, लन्डन W8 4QU, UK

इमेल : [email protected]

सम्पर्क नम्बर: +44 (0)207 229 1594 09.00 - 13.00 बजे र 14.00 - 17.00 बजेबीच

तपाईको प्रतिक्रिया