दक्षिणपूर्वी युराेपकाे देश क्राेएसियाबारे जानकारी

 मंसिर १९, २०८० मंगलबार २०:३५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

क्राेएसिया दक्षिणी युरोपको बाल्कन प्रायद्वीपको उत्तर पश्चिमी किनारमा रहेको देश हो । यसको आधिकारिक नाम क्रोएसिया गणतन्त्र हो । तर बोलीचालीको भाषामा क्रोएसिया मात्र भनिन्छ ।

दक्षिण पूर्वी युरोपमा रहेकाे क्रोएसिया भौगोलिक रूपमा विविध छ । यहाँ पहाडदेखि समतल मैदानहरू पनि छन् । यसको सिमाना उत्तर पश्चिममा स्लोभेनिया, उत्तर पूर्वमा हंगेरी, पूर्वमा सर्बिया,  दक्षिण पूर्वमा मोन्टेनेग्रो, बोस्निया र हर्जगोभिनासँग जोडिएको छ । पश्चिम र दक्षिण पश्चिममा इटालीसँग समुद्री सीमा पर्दछ ।

यो देश शेन्जेन क्षेत्रभित्र पर्दछ । स्वतन्त्ररूपमा मानिसको आवतजावतसँगै सामानसमेत सिमाना वारपार गर्न सक्ने गरी युरोपका विभिन्न २७ वटा देशबीच शेन्जेन सम्झौता भएको छ । यी २७ मध्ये कुनै एक देशको भिसा भएकाहरूले २७ वटै देशमा विना रोकताेक आवतजावत गर्न सक्छन् ।

राजधानी : जाग्रेब

भाषा  : क्रोएसियाली

मुद्रा :  युरो । एक युरो बराबर एक सय ४४.९५ नेपाली रुपैयाँ हुन्छ । तर समय अनुसार विनिमयदर घटबढ हुन सक्छ ।

समय भिन्नता : नेपालको समय भन्दा ३ घण्टा ४५ मिनेट  ढिला  ।

शेन्जेन क्षेत्र सदस्य : १ जनवरी २०२३  देखि ।

हावापानी 

 पहाडी क्षेत्रमा जाडोमा चिसो र हिउँ पर्ने हुन्छ । गर्मीको समयमा हल्का गर्मी हुन्छ ।

भिसासम्बन्धी नियम

विदेशी नागरिकले क्रोएसिया जानका लागि लामो समय बस्ने भिसा र निवास अनुमतिका लागि आवेदन दिनुपर्छ । क्रोएसियाली कम्पनीबाट कामको प्रस्ताव आएपछि त्यहाँ जान र काम गर्न चाहनेले लामो समयको काम भिसा पाउनुपर्छ । यसबाहेक क्रोएसियामा रहेको तपाईँको रोजगारदाताले तपाईँको तर्फबाट वर्क परमिट (काम गर्न अनुमति) लिनुपर्छ ।

क्रोएसियामा पुगेपछि तपाईँले स्थानीय प्रहरी विभागमा अस्थायी निवास अनुमतिका लागि आवेदन दिनुपर्छ । अस्थायी निवास अनुमति लिएपछि तपाईँ कानुनीरूपमा क्रोएसियामा बस्न पाउनुहुन्छ । सामान्यतया अस्थायी निवास अनुमति एक वर्षसम्म मान्य हुन्छ र बसाइ अनुमति थप्न पनि सकिन्छ । आफ्नो बासस्थान दर्ता गरेपछि तपाईँले त्यहाँ आईडी नम्बर पाउनुहुनेछ ।

रोजगारीको अवसरका क्षेत्रहरू

क्रोएसियामा विशेषगरी निर्माण क्षेत्र, रेस्टुरेन्ट, हेबी ड्राइभर, सफ्टवेयर डेभलपर जस्ता कामको अवसर छ । तर पछिल्लो समय यहाँका स्थानीय नागरिकले देश छाड्ने क्रम बढ्दो छ । यहाँ रोजगारी गर्न जाने विदेशी श्रमिकको भन्दा देश छाड्ने स्थानीयको सङ्ख्या धेरै छ । राम्रो अवसरको खोजीमा स्थानीयले देश छाड्दा क्रोएसियामा श्रमिकको अभाव छ । तर धेरैजसो विदेशी श्रमिकले भने कम पारिश्रमिक र स्थानीयले नगर्ने काम गर्ने गरेका छन् ।

पारिश्रमिक 

क्रोएसियामा मासिक आधारभूत तलब सात सय युरो तोकिएको छ । एक युरो बराबर नेपालमा सरदर १४५ रुपैयाँ हुन्छ । तर विनिमय दर घटबढ हुन सक्छ ।

कार्य घण्टा 

काम गर्ने घण्टा सामान्यतया सोमवारदेखि शुक्रवार बिहान ८: ३० अथवा ९ बजेदेखि बेलुका ४: ३० अथवा ५ बजेसम्म हुन्छ । यो समयमा ३० मिनेट खाजा खाने समय पाइन्छ । साप्ताहिक ४० घण्टा वा दिनको ८ घण्टा र हप्ताको ५ दिन यहाँ कार्य अवधि हुन्छ । क्रोएसियामा काम गर्ने श्रमिकले छ महिनाको रोजगारीपछि वर्षमा कम्तीमा पनि २० दिन तलबी बिदा पाउने व्यवस्था छ ।

ट्राफिक नियम

अन्य युरोपेली देशहरू जस्तै यहाँ पनि सडकको दायाँतर्फबाट गाडी चलाउने नियम छ । अरू गाडीलाई बायाँबाट ओभरटेक गर्नुपर्छ । क्रोएसियामा गाडी चलाउनका लागि कानुनी उमेर १८ वर्ष हो । रगतमा ०.०५ प्रतिशत वा माथिको अल्कोहलको स्तर भए गाडी चलाउन निषेध छ । तर २४ वर्षभन्दा कम उमेर समूहका व्यक्तिहरूका लागि भने गाडी चलाउन अल्कोहल पूर्णरूपमा प्रतिबन्ध छ ।

पैदलयात्रीले सधैँ सडक पेटी (फुटपाथ) को प्रयोग गर्नुपर्छ । फुटपाथ नहुँदा पैदलयात्रीलाई सम्भव भएसम्म सडकको बायाँतर्फबाट हिँड्न सिफारिस गरिन्छ । साथै सकेसम्म गाडीबाट सुरक्षित दूरी राख्ने प्रयास गर्नुपर्छ ।

नेपाल र क्रोएसियाबीच कुटनीतिक सम्बन्ध

नेपालले क्रोएसियासँग ६ फेब्रुअरी १९९८ मा कुटनीतिक सम्बन्ध स्थापना गरेको हो । नेपालले क्रोएसियासँग सद्भावना र एकअर्काको चासो र आकाङ्क्षाको सम्मानमा आधारित मैत्रीपूर्ण सम्बन्ध राखेको छ । 

क्रोएसिया संस्थागतरूपमा म्यानपावर व्यवसायीले वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने गरी सरकारले खुला गरेको देश हो । यो देशमा श्रमिक पठाउन कुन म्यानपावर कम्पनीले कुन कुन कामको माग ल्याएको छ र के कस्ता सेवा सुविधा पाइन्छ भन्ने जानकारी वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत थाहा पाउन सकिन्छ । यसका लागि विभागको वेबसाइट www.dofe.gov.np मा गई वैदेशिक रोजगारीको खोजी लेखिएको ठाउँमा क्लिक गरी आफूलाई आवश्यक परेको जानकारी खोज्न सकिन्छ ।

क्रोएसियामा नेपालको आधिकारिक नियोग छैन । स्विट्जरल्यान्डकाे जेनेभामा रहेको नेपाली दूतावासले द्विपक्षीय मामिला हेर्ने गर्छ । क्रोएसियामा समस्याको सामना गरिरहेका नेपालीले जेनेभामा रहेकाे नेपाली दूतावासलाई नै सम्पर्क गर्नुपर्छ ।

त्यस्तै नेपालमा पनि क्रोएसियाको आधिकारिक नियोग छैन । नयाँ दिल्लीमा रहेकाे क्रोएसियाली दूतावासले नेपाल (भिसा) सम्बन्धी सबै कामकाज गर्छ । क्रोएसियाले नेपालमा मानार्थ महावाणिज्यदूत भने नियुक्त गरेको छ ।

स्विट्जरल्याण्डको जेनेभामा रहेको नेपाली दूतावासको सम्पर्क 

https://gva.nepalmission.gov.np/

81 Rue de la Servette,

1202, जेनेभा, स्विट्जरल्यान्ड

टेलिफोन: +41 22 733 2600, +41 22 733 2621

इमेल: [email protected], [email protected]

तपाईको प्रतिक्रिया