प्रधानमन्त्री दुबई जाने बेला उडान तालिका अगाडि सारिँदा ३१ जना यात्रु छोडिए

 मंसिर १४, २०८० बिहिबार १२:०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाल एअरलाइन्सले गएराति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा ३१ जना यात्रुलाई काठमाण्डौ विमानस्थलमै छाडेको छ ।

नेपाल एअरलाइन्सको काठमाण्डौ–दुबई उडान गएराति साढे ११ बजे रहेकोमा विशिष्ट व्यक्तिको उडान भएको भन्दै दुईघण्टा अगाडि सारिएको थियो । उडान तालिका सरेको थाहा नपाउने ३१ जना यात्रु दुबई जानबाट छुटेका हुन् । उनीहरु ढिलो गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा छुटेका नेपाल एअरलाइन्सका प्रवक्ता रमेश पौडेलले दाबी गर्नुभयो ।

उडान तालिका सरेकोबारे सबै यात्रुलाई ईमेल र फोनमार्फत जानकारी गराए पनि केहीको फोन नउठेको तथा केहीको अन्य व्यक्तिले नै फोन उठाएका कारण सूचना नपुगेको उहाँको दाबी छ । तर छुटेका यात्रुहरुले भने उडान तालिका सरेकोबारे एअरलाइन्सले आफूहरुलाई थाहा नदिएको बताएका छन् ।

हिजो दुबई जान छुटेका ३१ जनालाई आजै पठाउने तयारी भएको पनि प्रवक्ता पौडेलले जानकारी दिनुभयो । उनीहरुलाई काठमाण्डौकै एक होटलमा राखेको र आजै दुबई पठाउन समन्वय भइरहेको उहाँको भनाइ छ ।  
 

तपाईको प्रतिक्रिया