राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना

 मंसिर १४, २०८० बिहिबार १७:५४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको अदक्ष जनशक्तिलाई सीप सिकाई आन्तरिक तथा अन्तर्राष्ट्रिय श्रम बजारका लागि प्रतिस्पर्धी बनाउन राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने निर्णय गरेकाे छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम सचिवको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति रहने गरी आज बिहीवार राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै भैँसेपाटी, इटहरी र बुटलवमा रहेको व्यावसायिक तथा सीप विकास प्रतिष्ठान विकास समितिमा परिणत भएको छ ।

विकास समितिमा अर्थ, शिक्षा, उद्योग मन्त्रालय, वैदेशिक रोजगार बाेर्डका कार्यकारी निर्देशक, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्ष वा प्रतिनिधि रहनेछन् । कार्यकारी निर्देशक सदस्य सचिव रहनेछन् । समितिले प्रतिस्पर्धा गरी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गर्नेछ ।

श्रममन्त्री भण्डारीले अदक्ष र अर्धदक्ष जनशक्तिलाई सीपयुक्त बनाउने संयन्त्र बनेको बताउनुभयाे । हाम्रो बजार र अन्तर्राष्ट्रिय बजारको सीपयुक्त जनशक्तिको माग छ । दक्ष, प्रतिस्पर्धी, सीपयुक्त र उद्यमशीलता जनशक्ति उत्पादन नहुँदा नेपाली जनशक्तिले उचित ज्याला र सुरक्षा पाइरहेका छैनन्’, उहाँले भन्नुभयो, यो विकास समितिले बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन गरी बजारको आवश्यकता परिपूर्ति गर्नेछ । समितिले दिएको प्रमाणपत्रले अन्तर्राष्ट्रिय मान्यता पाउनेछ ।’

विकास समितिले स्वदेश वा विदेशमा रोजगारीका लागि उपयोगी हुने विभिन्न विषय (ट्रेड) का निर्धारित पाठ्यक्रमअनुसार छ महिनाकाे प्रशिक्षण दिनेछ । त्यो प्रशिक्षण कम्तीमा सात सय तीस कार्यघण्टाकाे हुन्छ ।

समितिले दक्ष प्रतिस्पर्धी, सीपयुक्त तथा उद्यमशीलता जनशक्ति उत्पादन गर्नका लागि आवश्यक पर्ने प्रशिक्षण कार्यक्रमको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी दीर्घकालीन तथा अल्पकालीन नीति तर्जुमा गर्ने, श्रम बजारको माग अनुरूप दश जनशक्ति उत्पादन गर्नका लागि आवश्यक प्रशिक्षणको विषय पहिचान तथा छनोट गर्ने, समितिको वार्षिक योजना कार्यक्रम तथा बजेट स्वीकृत गर्नेछ ।

सीप विकास तथा उद्यमशीलता विकास तालिम, वैदेशिक रोजगारीमा जान छनोट भएका कामदारका लागि सञ्चालन गरिने पूर्वप्रस्थान अभिमुखीकरण, मुख्य प्रशिक्षक प्रशिक्षण तथा कार्यस्थलमा आधारित व्यावसाहिक तथा सीप विकास तालिम दिइनेछ । समितिले वैदेशिक रोजगारीको गन्तव्य देश र तालिम प्रदायक अन्य संस्थासँग समन्वय गरी प्रशिक्षणसम्बन्धी सहयोग परिचालन गर्नेछ । श्रम प्रधान तालिम प्रदायक संस्थाको पाठ्यक्रम र तालिम अवधि निर्धारण गर्ने र परीक्षण गर्नेछ । श्रम प्रधान तालिम प्रदायक संस्थाले सञ्चालन गर्ने व्यावसाहिक प्रशिक्षणमा एकरूपता तथा गुणस्तरीय कायम गर्नका लागि तालिम प्रदायक संस्थाहरूको सूचीकरण, अनुगमन र समितिसँग आबद्धतासमेतका लागि आवश्यक मापदण्ड, निर्धारण गर्ने तथा त्यसकाे कार्यान्वयनको विषयमा मन्त्रालयमा पेस गर्नेछ ।

यो समितिको एउटा छुट्टै कोष हुन्छ । यो कोषमा नेपाल सरकारबाट प्राप्त हुने अनुदान, स्वदेशी व्यक्ति, निकाय वा संस्थाबाट सहायता स्वरूप प्राप्त हुने रकम, विदेशी व्यक्ति, सरकार वा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाबाट प्राप्त हुने रकम, समितिले उपलब्ध गराएको कुनै सेवाबापत प्राप्त हुने रकम कोषमा जम्मा हुन्छ ।

तपाईको प्रतिक्रिया